रातीको समयमा सवारी सन्चालनमा रोक

– सम्भावित दुर्घटना न्युनीकरणको कार्य
लोकखबर
२०८३ श्रावण २, शनिबार २३:५३

बिदुर – वर्षातको  समयमा सम्भावित दुर्घटना न्युनीरणका लागि नुवाकोटमा रातीको समयमा सवारी सन्चालनमा रोक लगाइएको छ । दुई दिनसम्म रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । सम्भावित अति भारी वर्षा, बाढी र पहिरोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार र आइतबार रातिको समयमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सार्वजपनक सुचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा साउन २ र ३ गते राति १० बजेदेखि बिहान ५ बजेसम्म नुवाकोट जिल्ला भित्र तथा जिल्ला बाहिरबाट प्रवेश गर्ने अधिकांश सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको हो । जिल्ला प्रशासनले उक्त अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक र निजी सवारीको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ । मौसमको प्रतिकूलता र सडकको अवस्थाअनुसार आवश्यक परे यो समयभन्दा बाहिर पनि सवारी आवागमन रोक्न सकिने उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विशेषगरी रातिको समयमा यात्रा नगर्न तथा यातायात व्यवसायीलाई समेत पूर्ण सहयोग गर्न अनुरोध गरेको छ । साथै विपद्को अवस्थामा सहयोग तथा जानकारीका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्र ११३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासनले सबै नागरिकलाई सतर्क रहन, नदी–खोला, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर सडक खण्डमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

लगातार भारी वर्षा हुने पूर्वानुमानपछि नुवाकोटमा अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै यहि साउन २ र ३ गते राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । विभागका अनुसार यी दुई दिन नुवाकोटसहित विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

वर्षाका कारण अचानक बाढी, पहिरो, गेग्रान बहाव तथा सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले रातिको समयमा यात्रा गर्न थप जोखिम हुने प्रशासनले जनाएको छ । प्रजिअ रेग्मीले जारी गरेको सूचनामा मानवीय क्षति हुन नदिन र सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको उल्लेख छ ।


सर्वाधिक रुचाइएको