महिला खोलामा मृत भेटिइन्
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको वरखोल्सामा एक महिला मृत भेटिएका छन् । त्रिशूली नदीमा एक युवक वेपत्ता भएका छन् । सदरमुकाम बिदुरदेखि ३५ किलोमिटर पुर्वमा रहेको ककनी गाउंपालिका ६ स्थित वरखोल्सा खोला नजिकै एक महिलाको शव फेला परेको हो । छिमेकी लिखु गापा ३ ढाडेफेदी घर भई हाल ककनी गापा ६ स्थित स्थानीय एक व्यक्तिको गाई फर्ममा काम गर्दै आएकी ४६ वर्षिया दुर्गा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी चौकी ककनीबाट गएको प्रहरी टोलीले शवको मुचुल्का संकलन गरि शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको प्रहरी निरीक्षक इकवाल हवारीले जानकारी दिए । महिलाको शव खोल्सा नजिकै घोप्टो परेको, संगै एउटा गिरिराज कुखुरा, झोला र झोलामा प्याजका दानासमेत भेटिएको वडाध्यक्ष लक्ष्मण तामाङले जानकारी दिए । यसैवीच, त्रिशूली नदीमा हेलिएका नुवाकोटको गेर्खुटारका एक युवक एक सातादेखि वेपत्ता रहेका छन् । विदुर नगरपालिका–१० गेर्खुका ३५ वर्षीय श्यामबहादुर मगराती असार ३२ गते विहीवारदेखि त्रिशूली नदीमा हेलिएकोमा मंगलवारसम्म पनि वास्तविकता पहिचान हुन सकेको छैन् ।

मगराती नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगे र त्रिशूलीवजार जोड्ने पक्कि पुलबाट त्रिशूली नदीमा हामफालेपछि बेपत्ता भएका हुन् । उनको खोजीमा आफन्तजन, सर्वसाधारण, प्रहरी टोली परिचालन गरिएपनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।











































