‘चमेलीको पोइ’ को शीर्षगीत सार्वजनिक
बिदुर – वहुप्रतिक्षित र चर्चित नयाँ नेपाली चलचित्र ‘चमेलीको पोइ’ को शीर्षगीत सार्वजनिक भएको छ । सो गीतमा उत्कृष्ट नृत्य तथा कण्टेण्ट क्रियन गर्नेलाई पुरस्कृत गरिने भएको छ । सो चलचित्रको प्रदर्शन मिति तय गरिएसंगै “ओई ओई चमेली तम्रा शेरे खोइ” बोलको शीर्षगीत कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।

देशको समसामयिक अवस्थाका कारण निर्माण पक्षले पूर्व घोषित प्रदर्शन मिति परिवर्तन गरि निर्माण पक्षले नया प्रदर्शन मिति सार्वजनिक गरेको केहि सातामै यसको शीर्षगीत सार्वजनिक गरेको हो । यस शीर्षगीतको रचना निर्देशक एभरेष्ट सुर्य बोहराले गरेका हुन् । संगीत तथा गायन राजनराज सिवाकोटी र इन्दिरा जोशीको आवाजमा सजिएको यस आधुनिक गीत रमाइलो, ऊर्जायुक्त र मनोरञ्जनपुर्ण रहेको छ ।

यस शीर्षगीतमा नारायण त्रिपाठी, विल्सनविक्रम राई, सुरक्षा पन्तका साथै समूह नृत्य देख्न सकिन्छ । मुस्ताङको विभिन्न मनमोहक दृश्य संग्रहित यस चलचित्र सफल तथा अनुभवी एभरेष्ट सूर्य बोहरा निर्देशित नवौं चलचित्र हो । यसअघि ‘चमेलीको पोइ’ रामनवमी अर्थात गत २०८२ साल चैत १३ गते दर्शकमाझ ल्याइने मिति तय भइसकेको भए पनि निर्वाचनलगायतका कारणले प्रदर्शन मिति परिवर्तन भएर वडादशैंको छेको पारेर आगामी असोज १६ गते प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

‘ओइ ओइ चमेली ताम्रा शेरे खै?’ गीतमा डान्स र कन्टेन्ट क्रियसन प्रतियोगिता आयोजना गरिएको छ । त्यसमा प्रथम हुनेले ५० हजार, दोश्रो हुनेले ३० हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना स्थान जित्नेले ५ हजार रुपैया पुरस्कार पाउने घोषणा गरिएको छ । गीत सार्वजनिक गर्दै निर्माता रामनारायण उपाध्यायले बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’ बडादशैंका अवसर पारेर असोज १६ गतेबाट प्रदर्शनमा आउने पकका भएको बताए ।

निर्माता उपाध्यायले चलचित्रको गीत सार्वजनिक गर्दै चलचित्र र यसको गीत निकै राम्रो बनेको वताए । निर्देशक एभरेष्ट सुर्य बोहराले निकै मेहनत गरेर वनाइएको चलचित्रको शीर्ष गीत सार्वजनिक गर्न पांउंदा निकै खुसी लागेको वताए । सो चलचित्रमा मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल रहेका छन् ।

यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी भने गराएको छैन, चलचित्र नै कुर्नु पर्ने भएको छ । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको ‘चमेलीको पोइ’ को निर्माता रामनारायण उपाध्यायले निर्देशक बोहराको समूहले निकै मेहनतका साथ सवै परिस्थिथितिको आंकलन गरेर समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गर्दै नयां प्रदर्शन मिति तय गरिएको जनाएका छन् । हाम्रो लागि हामीले बनाएको हाम्रो चलचित्र ‘चमेलीको पोई’ महत्वपूर्ण छ, हामीहरु इसलाई दर्शकहरुसम्म लैजान आतुर छौ ।

‘चमेलीको पोई’ को सार्वजनिक पोस्टर र शीर्ष गीतबाट चर्चा पाएको चलचित्र प्रदर्शनका लागि आफुहरु अव हलमा दर्शकहरुकोे पर्खाइमा रहेको निर्देशक एभरेष्ट सुर्य बोहराको भनाई छ । निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको सो चलचित्रको निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् । उदयविक्रम राणा, रितु मल्लठकुरी तथा कपिल आचार्य कार्यकारी निर्माता रहेको सो चलचित्रको सह–निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली तथा सुदीप कुँवर हुन् ।

यसैमार्फत लामो समयपछि चर्चिच हास्य कलाकार नारायण त्रिपाठी कमव्याक भएका हुन् । चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएलशाही, रितु मल्लठकुरीलगायतले अभिनय गरेका छन् । यस चलचित्रको गीतमा राजनराज सिवाकोटी र आशिष अविरलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व रहेको छ ।





















































