रोपाइको खेप जोत्दै गर्दा पहिरो
बिदुर – रोपाई भइरहेको खेत जोत्दैै गर्दा नुवाकोटको चारघरेस्थित खेतमा पहिरो गएको छ । पहिरोमा परि घाइते भएक खेतालामा काठमाडौको अस्पतालमा उपचार भइरहेको छ । खेतमा रोपाई भइरहेका वेला माथिवाट अकस्मता लेदोसहितको पहिरो झरेको कारण एक जना खेताला गम्भीर घाइते भएका हुन् ।

बिदुर नगरपालिका–१२ पोखरीडाँडामा स्थानीय एक जनाको खेत रोपाई भइरहेको वेलामा अकस्मात सोही खेतको माथिल्लो भेगमा लेदो पहिरोसमिेत झर्दा एक जना खेताला गम्भीर घाइते भएको र उनको काठमाडौस्थित ग्राण्डी अन्तृराष्ट्रिय अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष उपिन्द्र खड्काले जानकारी दिए । रोपाइ भइरहेको खेतमा खेत जोत्दै गरेका बेला अचानक पहिरो जाँदा एक जना गम्भीर घाइते भएका हुन् । स्थानीय नमराज भट्टको खेतमा गएको पहिरोमा परेर खेताला गएका छिमेकी ५२ वर्षीय होमकुमार भट्ट गम्भीर घाइते भएका हुन् ।

घटनास्थलमा नजिकै रहेका अन्य खेतालाहरु भने समयमै भागेर ज्यान जोगाउन सफल भएका छन् । घाइते होमकुमार भट्टको खुट्टा भाँचिएको बताइएको छ । उनको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गर्दै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित रहन सबैमा अनुरोध गरेको छ ।

पहिरोका कारण करिब तीन रोपनी खेत बगेको छ भने पहिरोपछि खेतको स्वरुप नै परिवर्तन भएर भीर बनेको छ । लगातारको वर्षाका कारण नुवाकोटका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेका बेला स्थानीयवासीलाई थप सतर्क रहन आग्रह गरिएको छ ।











































