नियम अनुसार धितो लिलामः वैंक

– कानुनको संरक्षणमा जोड
लोकखबर
२०८३ श्रावण ५, मंगलवार १८:२४

बिदुर – नियम अनुसार धितो लिलाम गरिएको ज्योति विकास बैंक लिमिटेडले जनाएको छ । उक्त वैंकको नेपालटार शाखाबाट जारी भएको कर्जाको धितो लिलाम बिक्री प्रक्रियासम्बन्धी विषयमा भइरहेका टिप्पणीप्रति वैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नुवाकोटको किस्पाङ गाउंपालिका ३ की च्याउकीमाया तामाङले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित आफ्नो घरजग्गा धितो राखी चार वर्षअगाडि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिएकी थिइन् । विभिन्न कारण उनले पछिल्ला दुई वर्षदेखि कर्जा तथा ब्याज नियमित रूपमा वुझाउन नसकेपछि बैंकले पटक/पटक ताकेता गर्दै चार पटकसम्म लिलामको सूचना प्रकाशित गरेको जनाएको छ ।

उक्त जग्गा नुवाकोटकै किस्पाङ स्थायी घर भएका कांग्रेस नेता तथा वागमतिका पुर्व मुख्यमन्त्रि बहादुरसिंह लामातामाङले बैंकको नियम अनुसार लिलामी सकारेका थिए । सोही विषयमा केहि पक्ष लामा र बैंकका सम्वन्धमा सामाजिक सन्जालमा टिकाटिप्पणीमा लागेपछि ज्योति विकास बैंक र लामा दुवैले वास्तविकतासहित खण्डन गरेका छन् । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै कर्जा लिने व्यक्तिले साँवा–ब्याज भुक्तानी नगरेपछि आन्तरिक नीति, प्रचलित कानून तथा नियामकीय निर्देशिका बमोजिम पटक÷पटक कर्जा नियमित गर्न प्रयास गरिएको जनाएको छ ।

त्यसपछि पनि कर्जा नियमित नभएपछि राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी प्राप्त बोलपत्रलाई नियमअनुसार स्वीकृत गर्दै धितो लिलाम बिक्री गरिएको बैंकले जनाएको छ । धितो लिलामबाट बैंकले आफ्नो कर्जा असुल गरिसकेपछि पनि कर्जाग्राहीसँग अन्य व्यक्तिको व्यक्तिगत आर्थिक लेनदेनको जिम्मेवारी बैंकले लिनुपर्ने भन्ने तर्क निराधार, असान्दर्भिक र अनुचित रहेको वैंकले जनाएको छ । विज्ञप्तिमा बैंक, बैंकका पदाधिकारी तथा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जालमा अर्नगल टिकाटिप्पणी, झुट्टा आरोप, गालीगलौज र भ्रामक सामग्री प्रचार गरिएको जनाउंदै गम्भीर आपत्ति जनाइएको छ ।

ज्योति विकास बैंकले आफ्नो नाम र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम फैलाउने तथा बैंकको छविमा नकारात्मक असर पार्ने गतिविधिमा संलग्न व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बहादुरसिंह लामातामाङ र ज्योति विकास बैंकमार्फत लिलामीमा परेको घरजग्गाकी धनी च्याउकीमाया तामाङले संयुक्त रूपमा सार्वजनिक अपिल जारी गर्दै आफूहरूमाथि लगाइएका ‘सेटिङमा घरजग्गा लिलामी गरिएको’ भन्ने आरोप निराधार रहेको बताएका छन् । संयुक्त अपिलमा तामाङले ज्योति विकास बैंकले कानुनी प्रक्रियाअनुसार तोकेको लिलामी मूल्यमा आफ्नो घरजग्गा बहादुरसिंह लामाले सकार गरेको स्पष्ट पारेकी छन् ।

उनले हालसम्म पनि आफू पक्षाघात (प्यारालाइसिस) भएका श्रीमानसँग सोही घरमा बसोबास गरिरहेको र आफूलाई घरबाट ननिकालिएको उल्लेख गरेकी छन् ।तामाङका अनुसार आर्थिक समस्याका कारण लिलामीमा पुगेको सम्पत्ति जोगाउन नसकेपछि आफ्नै आग्रह र अनुनय–विनयमा कांग्रेस नेता लामाले लिलामी सकार गरेका हुन् । उनले लामाले आफू सक्षम हुने अवस्थामा सोही मूल्य तिरेर घरजग्गा फिर्ता लिन सकिने भन्दै पटक–पटक आग्रह गर्दै आएको पनि सार्वजनिक रूपमा उल्लेख गरेकी छन् ।

च्याउकीमाया तामाङले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित आफ्नो घरजग्गा धितो राखी चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिएकी थिइन् । तर, चार वर्षसम्म सावाब्याज चुक्ता नभएपछि बैककले लिलामीमा निकालेको थियो । लामाले सामाजिक सञ्जालमा आफूले कहिल्यै नचिनेका व्यक्तिहरूले ‘सेटिङमा घर लिलामी गरेको’ भन्दै फैलाएको गलत प्रचार पूर्ण रूपमा झुटो र भ्रामक भएको बताएका छन् । उनले यसअघि पनि यस विषयमा समवन्धित स्थानमा जानकारी तथा वास्तविक स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै सत्य तथ्य नबुझी गरिएको दुष्प्रचारले आफ्नो चरित्रमाथि आघात पु¥याउने प्रयास भएको बताएका छन् ।

तामाङले आफ्नो नाम जोडेर लामाविरुद्ध भइरहेको दुष्प्रचारमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै गलत प्रचार गर्ने व्यक्तिहरूलाई आफूले नचिनेको दाबी गरेकी छन् । सामाजिक सञ्जालहरुमा उक्त विषय व्यापक रूपमा सार्वजनिक भएपछि कांग्रेस नेता लामाले औपचारिक स्पष्टीकरण दिएका थिए भने ज्योति विकास बैंकले पनि लिलामी प्रक्रिया कानुनी मापदण्डअनुसार सम्पन्न भएको विज्ञप्तिसहित स्पष्ट पारिसकेको छ ।

 

 


सर्वाधिक रुचाइएको