खेतमा करेण्ट लागेर किसानको मृत्यु
बिदुर – नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरमा खेतमा करेण्ट लागेर एक जना किसानको ज्यान गएको छ । विद्युतीय पोल र तार व्यवस्थापनको स्थानीयवासीले माग गरेका छन् । सदरमुकाम बिदुरदेखि ४० किलोमिटर दुरीमा रहेको दुप्चेश्वर गाउंपालिका –३ गहतारमा करेन्ट लागेर खेतमा काम गरिरहेका एक जना किसानको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

स्थानीय ४० वर्षिय कुमार बिक मंगलवार दिउंसो खेतमा औषधि छर्कने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए । सम्बन्धित निकायले उक्त घटनाप्रति निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । ११ हजार केभिए क्षमताको विद्युत पोल र तारको उचित व्यवस्थापन नहुंदा उक्त घटना घटेको स्थानीय युवा सामाजिक अगुवा सरोज केसीले वताए ।

यद्यपि, घटनाको कारणबारे जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानबाट विद्युत् लाइनको लापरबाही, प्राविधिक त्रुटि वा मापदण्डविपरीत व्यवस्थापनका कारण घटना भएको पुष्टि भएमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न स्थानीयवासीले माग गरेका छन् ।
आगामी समयमा यस प्रकारका घटनाहरु दोहोरिन नदिन विद्युत् संरचनाको नियमित मर्मत–सम्भार, प्रभावकारी सुरक्षा मापदण्ड र निरीक्षण कार्य प्रभावकारी वनाउनुपर्ने सर्वसाधारणले माग गरेका छन् ।










































