विष्फोटक पदार्थ पड्किदा एकको मृत्यु
बिदुर – जलविद्युत आयोजना निर्माणका क्रममा नुवाकोटसंगै जोडिएको रसुवाको मानचेतमा विष्फोटक पदार्थ पड्किदा एक जनाको ज्यान गएको छ । सेनासहित ६ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । आमाछोदिङ्मो गाउँपालिका–३ मानचेतस्थित विष्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा एक जनाको मृत्यु भएको र दुई जना सेनासहित ६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा गमभीर घाइते भएका २७ वर्षिय सोनाम घलेको धुन्चेस्थित रसुवा अस्पतालमा उपचारका क्रममा सोमवार वेलुकी मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते दुई जना सेना सहित तीन जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौ पठाइएको छ । दुई सेनाको छाउनी र एक जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको रसुवा प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको म्याद गुज्रेको विष्फोटक पदार्थ विष्फोट भएको हो । गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशीस्थित नेपाली सेनाको श्रीनाथ गणको सुरक्षा वेशको बंकरमा लामो समयदेखि भण्डारण गरी राखिएका, विभिन्न आयोजनामा प्रयोग भएर खपत अवधि समाप्त भएका काम नलाग्ने विष्फोटक पदार्थलाई बर्निङ तथा डिमोलिसन विधिबाट डिस्पोज गर्ने क्रममा घटना भएको हो । बिस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा भएको दुर्घटनामा घाइतेमध्ये नेपाली सेनाका दुई जना र भोटेकोसी जलविद्युत आयोजनासँग सम्बन्धित चार जना रहेका छन् ।

३ जना घाइतेको त्रिशूली अस्पताल उपचार भइरहेको छ । नेपाली सेनातर्फ श्रीनाथ गणका अमलदार राजु भण्डारी र एम्युनिसन महाशाखाका प्रा. अमदार भोजबहादुर सारु घाइते भएका हुन् । दुवैको टाउको, हात, खुट्टा तथा अनुहारमा चोट लागेको छ । भोटेकोसी जलविद्युत आयोजनातर्फका कामदार मकवानपुरका सविन राना सामान्य घाइते भएका छन् भने रसुवाका निमा दोर्जे तामाङको अवस्था मध्यम रहेको छ ।

मृतक आमाछोदिङ्मो गापा –४ का सोनाम घलेको टाउको, घाँटी तथा शरीरका विभिन्न स्थानमा चोट लागेको थियो । मकवानपुर हेटौंडाका आइते पाख्रिन र बैतडीका वीरेन्द्र धामीको कानमा समस्या रहेको र दुवैको अवस्था सामान्य रहेको छ । घटनालगत्तै घाइतेहरुलाई उपचारका लागि रसुवा अस्पताल धुन्चे लगिएको थियो ।

घटनापछि प्रहरी चौकी थाम्बुचेतबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको टोली घटनास्थलमा पुगेका थिए । घटनास्थल थाम्बुचेत प्रहरी चौकीबाट १० किलोमिटर दक्षिणतर्फ रहेको छ । सख्त घाइते रहेका कारण सेनाको दुई र एक जना सर्वसाधारण सेनाको हेलिकप्टरमार्फत काठमाडौ पठाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।












































