आखेटोपहारसहित दुई जना पक्राउ
बिदुर – पासाङल्हामु मार्ग अन्र्तगत रहेको रसुवाको धुन्चेमा नियमित चेकजांचको क्रममा आखेटोपहारसमित दुई जना गाडीसहित पक्राउ परेका छन् । उनीहरुलाई वन्यजन्तुको खुट्टा, गाडी ट्रिपरसहित कारवाहीका लागि लाङटाङ राष्ट्रिय निकुन्जमा वुझाइएको छ ।
उक्त सडकमार्गमा रहेको गोसाइकुण्ड गाउंपालिका ६ स्थितच धुन्चेमा चेकजांचको क्रममा गत्लाङवाट स्याफ्रुवेशी हुंदै नुवाकोटको त्रिशूली जाने क्रममा रहेको प्र३–०१००५ख ९७८३ नम्वरको ट्रिपर गाडीको हाइड्रोलिक पाइपमुनी रातो डोरीले वांधेर लुकाईछिपाई ल्याएको अवस्थामा वन्यजन्तु भालुको खुट्टा जस्तो देखिने दुई थान खुट्टा फेला परेको हुंदा भालुको जस्तो देखिने खुट्टा (आखेटोपहार), गाडी सहित २ जना युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुमा रसुवाकै आमाछोदिङ्मो गापा ५ का २९ वर्षिय गोम्वो तामाङ र आमाछोदिङ्मो गापा ३ का २४ वर्षिय तोप्तेन तामाङ रहेका छन् ।
पक्राउ परेका दुवै युवक, वन्यजन्तुको जस्तो देखिने खुट्टा (आखेटोपहार) र गाडीसहित कारवाहीका लागि मंगलवार लाङटाङ राष्ट्रिय निकुन्ज कार्यालयमा वुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको निकुन्जले जनाएको छ ।











































