बिद्यार्थीमाझ अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता

– एकल र युगल दुवै विद्यामा स्पार्कल इन्टरनेशनलले जित्यो उपाधि
लोकखवर मनोरन्जन संवाददाता
२०८३ भाद्र ६, शनिबार ००:२४

बिदुर – विद्यालयस्तरवाटै खेल प्रतिभा उजागर गर्ने उद्धेश्यले नुवाकोटको पिपलटारमा जिल्लास्तरिय अन्तरविद्यालय खुल्ला लोकनृत्य प्रतियोगिता गरिएको छ । विजेता विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरिएको छ । लोक कला तथा संस्कृतिको संरक्षण, संवद्र्धन तथा बाल प्रतिभाहरूको उजागर गर्ने उद्देश्यले सन्चालित अन्तर विद्यालय खुल्ला लोकनृत्य प्रतियोगितामा एकल विद्यातर्फ स्पार्कल इन्टरनेशनल स्कुलले उपाधि जितेको छ ।

उपाधिसंगै स्पार्कल इन्टरनेशनल ११ हजार एकसय ११ नगदका साथै प्रमाणपत्र पुरस्कार पाएको छ । सोही विद्यामा गुडविल एकेडेमीले दोश्रो स्थान, भुपेन्द्र मेमोरियलले तृतीय र ग्लोवल मण्टेश्वरीले सान्त्वना स्थान पाएको छ । उपविजेता गुडविलले नगद ६ हजार ६ सय ६६ र तृतीय भएको भुपेन्द्र मेमोरियलले तीनहजार तीनसय ३३ रुपैया पुरस्कार र प्रमाणपत्र पाएको छ ।

गुडविल एकेडेमीको परिसरमा सन्चालित प्रतियोगिताको युगलतर्फ स्पार्कल एकेडेमीले उपाधिसंगै नगद १५ हजार रुपैयाका साथ प्रमाणपत्र पाएको छ । तादी भ्यु एकेडेमीले उपविजेता भई नगद १० हजार, नेशनल वेथेल एकेडेमीले तृतीय भई पांचहजार र सान्त्वना भएको ग्लोरी एकेडेमीले दुईहजार पांचसय रुपैयासहित प्रमाणपत्र पुरस्कार पाएको हो । बिजेता विद्यालयका विद्यार्थीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, बिदुर नपाकी उपमेयर प्रभा वोगटी, कलाकार संघका सदस्य जीवन थापा, बिदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, बिदुर नपा १ का वडाध्यक्ष लेनीन रन्जितलगायतले पुरस्कृत गरे ।

पुरस्कृत गर्दै विदुर नगरपालिकाका मेयर श्रेष्ठले प्रतियोगितामा एकल र समूहगत रुपमा आकर्षक नृत्य प्रस्तुत गरि विजेता हासिल गर्ने र सहभागी विद्यार्थी तथा विद्यालयलाई कला र संस्कृतिको संरक्षणमा क्रियाशील हुन आग्रह गरे । उनले सहभागि विद्यार्थीहरुलाई निरन्तर सहभागिताको आग्रह गरे । कला, संस्कृति, मौलिकताको संरक्षण र सम्वद्र्धनका लागि आगामी दिनमा अझै बृहत्त स्वरुपका कार्यक्रम गरिनुपर्ने सुझाब दिदै मेयर श्रेष्ठले यसका लागि आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

नुवाकोटको सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा सन्चालित अन्तरविद्यालय खुल्ला लोकनृत्य प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थी सहित शिक्षक एवं प्रतिनिधिहरु, स्थानीय एवं राष्ट्रिय कलाकारहरु, प्याब्सन नुवाकोट तथा बिदुरका पदाधिकारीहरुलगायत कलाप्रेमी, शिक्षाप्रेमी, सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गायकहरु कृष्ण रेउले, दामोदर खतिवडालगायतले आआफ्नो सांगितीक प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले कला र संस्कृति र नृत्यको संरक्षणमा गरिएको यस अभियान महत्वपुर्ण रहेको वताए ।

उनले विद्यार्थी, विद्यालय, समुदाय तथा आयोजकलाई यसको निरन्तरता दिन आग्रह गरे । कार्यक्रमा बिदुर नपाकी उपमेयर प्रभा वोगटीले सुन्दरादेवी सन्देश साप्ताहिकले समाचार प्रकाशनमा मात्र सीमित नरही कला, संस्कृति, साहित्य र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धनलाईसमेत आफ्नो महत्वपूर्ण सामाजिक दायित्वका रूपमा अघि बढाउँदै आएकोमा प्रशंसनीय रहेको वताइन् । उनले विद्यालयदेखि नै लोककला, लोकसंस्कृति, साहित्य, सिर्जनशीलता र विद्यार्थी प्रतिभा प्रस्फुटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।

प्रतियोगितामा निर्देशक तथा कोरियाग्राफर माधवराज खरेल र मोडेल तथा कोरियोग्राफर सुनीता कुंवर निर्णायक रहेका थिए । प्रतियोगितामा एकलतर्फ १६ र युगलतर्फ २२ विद्यालयले सहभागिता जनाएको छ । नयाँ पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने, विद्यार्थीभित्र लुकेका प्रतिभाको पहिचान गर्ने र उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सन्चालन गरिएको आयोजक समितिका संयोजक किरणप्रसाद अधिकारीले वताए । उनका अनुसार मौलिक संस्कृति जोगाऔँ, नयाँ प्रतिभालाई अवसर दिऔँ र हाम्रो पहिचानलाई पुस्तौँसम्म जीवित राखौँ भन्ने उद्देश्यसहित सांस्कृतिक अभियान सन्चालन गरिएको हो ।


सर्वाधिक रुचाइएको