बर्षात् र पहिराले विभिन्न स्थानमा क्षति
बिदुर – अविरल बर्षात्ले नुवाकोटको पुर्वी भेगमा रहेको विभिन्न स्थानमा पहिरो तथा कटान गरेको छ । ठुलो परिमाणमा भौतिक सम्पत्ति नष्ट गरेको छ । शिवपुरी, पञ्चकन्या, तादी, दुप्चेश्वरलगायतका गाउँपालिकाको विभिन्न स्थानमा अविरल वर्षात्संगै आएको बाढी पहिरोले सडक, पुल, कृषि योग्य खेतबारी, घर, टहरा, गोठ र पशु चौपायालगायतको भौतिक सम्पत्ति नष्ट गरेको छ । व्यापक रुपमा खेति गरिएका खेत तथा वारी पहिरा र वाढीले कटान गरेको छ ।

पहिराले पुर्वी भेगमा रहेको अधिकांश सडकमा क्षति भएको पुर्वमन्त्रि हितवहादुर तामाङले वताए । उनले तत्काल उद्धार तथा राहत एवं अवरुद्ध सडकहरु तत्काल खुलाउन र पुननिर्माण कार्य तत्काल सुरु गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल तीनै तहका सरकार स्थानीय पालिका, वागमति प्रदेश र संघीय सरकारले सहकार्य गरेर पीडित जनताको पुर्नस्थापना गर्न माग गरेका छन् । भारी वर्षात्का कारण पञ्चकन्या गापाका विभिन्न स्थानहरूमा गएको पहिरोले सडक अवरुद्ध हुनुका साथै घर, टहरा र खेतवारी कटान गरि ठूलो क्षति भएको पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ ।

उनले प्रभावित तथा जोखिममा परेका परिवारहरूलाई राहत वितरण र अस्थायी आवासको उचित व्यवस्थापन गर्ने कार्य भइरहेको वताए । अध्यक्ष तामाङ, उपाध्यक्ष विमला पाठककेसी, विपद् व्यवस्थापन टोली, सुरक्षाकर्मी तथा कर्मचारीहरू क्षतिको मुल्यौकन तथा पुर्नस्थापना कार्यमा जुटेको पन्चकन्या गापा कार्यालय लाकुरीभन्ज्याङले जनाएका छ । चट्याङसहित परेको अविरल वर्षात्का कारण नुवाकोटको पूर्वी भेगअन्तर्गत खरानीटार–समुन्द्रटार सडकखण्डको दुप्चेश्वर मार्गमा रहेको तादी गाउँपालिका–४, ढाँडेमा ठूलो पहिरो गएको छ । पहिरोका कारण पैदल तथा यातायातका सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ ।

पहिरोका कारण स्थानीवासीका घरहरू जोखिममा परेका छन् भने खेतीयोग्य जमिनसमेत कटानमा परेकोे छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय परिचालन भएको छ । उता, नुवाकोटको तादी गाउँपालिका–४ ढाडे नौबिसेमा परेको भीषण वर्षात्का कारण पहिरो गएको छ । पहिराका कारण घर तथा बस्ती जोखिममा परेका छन् । समुद्रटार–सातबिसे सडकखण्डमा आवागमनसमेत अवरुद्ध भएको छ । वर्षा जारी रहेकाले जोखिम क्षेत्रमा रहेका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बर्षात्ले नुवाकोटको छहरे–टोखा–त्रिशूली सडकमार्गमा रहेको तादीखोलास्थित ढिकुरेको पुलमा क्षति गरेको छ । पुलमा तलतीरवाट खोलिएर ठुलो भ्वाङ परेको छ । लगातारको वर्षाका कारण शिवपुरी गापा–५ खहरे खोला–शेराबगर क्षेत्रमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण सडकमा क्षति पुगेपछि यस सडकखण्डमा यातायात आवागमन प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि नुवाकोटबाट सिन्धुपाल्चोकतर्फ जाने यात्रु तथा सवारीसाधनलाई समस्या भएको थियो । सडकको अवस्था जोखिमपूर्ण र लगातार वर्षात् भइरहेकाले सडक आसपास थप पहिरो तथा बाढीको जोखिम हुन सक्ने भन्दै यात्रु र सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको र अत्यावश्यक कामवाहेक यात्रा नगर्न यात्रुहरुमा आग्रह गरिएको छ ।

उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरमा भारी वर्षापछि पहिरो,सडक अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण नुवाकोटको दुप्चेश्वर गापाका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा क्षति पुगेको छ । अवरुद्ध भएका सडकखण्डहरू पहिरो पन्छाएर सुचारु गर्ने कार्य गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए । उनका अनुसार, क्षतिको सम्बन्धित प्रहरी चौकीमा जानकारी गराई मुचुल्का तयार गरेर गाउँपालिकाको विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरिएको छ ।

यता, पञ्चकन्या–४ थप्रेकमा पहिरोले ठूलो क्षति गरेको छ । स्थानीयवासी समस्यामा परेका छन् । नुवाकोटको पञ्चकन्या गापा–४ थप्रेकमा पहिरोले ठूलो क्षति गरेको छ । पहिरोका कारण घर, सडक, खेतबारी लगायतका संरचनामा क्षति पुगेको छ । वर्षौँको मेहनत र पसिनाले निर्माण गरेको घर, सडक तथा खेतीयोग्य जमिन पहिरोले क्षणभरमै बगाएपछि प्रभावित स्थानीयवासी गम्भीर समस्यामा परेका छन् ।

प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग स्थानीयवासीले आग्रह गरेका छन् । विपद्को समयमा सामूहिक सहकार्यको आवस्यकता औल्याइएको छ । भारी वर्षाका कारण पञ्चकन्या गाउँपालिकाका विभिन्न स्थानहरूमा पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुनुका साथै धेरै घर, जग्गा र जमिन उच्च जोखिममा परी ठूलो भौतिक तथा आर्थिक क्षति हुन पुगेको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले स्थानीयवासीको घर, टहरा, गोठ तथा खेतीयोग्य जमिन पुरेको छ ।

३१ भन्दा बढी घर र गोठहरू उच्च जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । पञ्चकन्या गापा २, ३, ४ र ५ का विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ ।पहिरोका कारण ढुंगा, माटो र टिनले बनेका घर, टहरा तथा गोठहरू क्षति भएका छन् भने घरका अगाडि र पछाडिबाट जमिन भासिँदा र चिरा पर्दा सिंगो बस्ती नै जोखिममा परेको छ । कतिपय स्थानमा स्थानीयका अन्नपात र घरभित्रका सरसामानहरू पहिरोले पुरेको छ भने पहिरोका कारण केही स्थानमा चौपायासमेत घाइते भएका छन् ।

विस्थापित भएका परिवारहरू छिमेकी तथा सुरक्षित स्थानमा ओत लाग्न बाध्य भएका छन् । पहिरोले पञ्चकन्या क्षेत्रका ग्रामीण सडकहरू समेत पूर्ण रूपमा बगाएपछि यातायात र आवतजावत ठप्प भएको छ । सडकको ठूलो हिस्सा नै तलतिर भासिएर भीर बनेपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने हिलो र लेदोले सडक पुरिएका कारण आवतजावत वन्द हुनुका साथै खानेपानीका पाइप तथा विद्युतका तारहरूमा समेत क्षति पुगेको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय पञ्चकन्या र नगर प्रहरीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

पन्चकन्या गापाका जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीको टोलीले पहिरोग्रस्त स्थानमा पुगेर जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, पहिरोले थुनेका नाला तथा कुलेसाहरू सफा गर्ने र सडक खुलाउने कार्य गरेको छ । टोलीले कोदालो, साबेल लगायतका घरेलु औजारको सहायताले हिलो पन्छाउँदै स्थानीयवासीलाई राहत र उद्धार कार्य गरेको छ । लगातारको वर्षा र कमसल भिरालो जमिनका कारण थप पहिरो जान सक्ने कारण उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । सुरक्षित रुपमा खुल्ला स्थानको पहिचान गरेर वाढी पहिरोवाट बच्नसमेत अनुरोध गरिएको छ ।
















































































