लायन्सको संयुक्त पदस्थापन

– सेवामूलक कार्यलाई प्रभावकारी
लोकखबर
२०८३ भाद्र ६, शनिबार २३:५७

बिदुर – नुवाकोटको बट्टारमा लायन्सको संयुक्त पदस्थापन कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ इपिक नुवाकोटको चार्टर ह्यान्डओभर तथा इन्स्टलेसन कार्यक्रम गरिएको हो । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालको लायन्स वर्ष २०२६/२०२७ अन्तर्गत परिचयात्मक तथा संयुक्त पदस्थापना कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

“उद्देश्यसहित नेतृत्व” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा लायन्सका विभिन्न क्लबका नयाँ सदस्यहरूको परिचय हुनुका साथै लायन्स वर्ष २०२६/२०२७ का लागि निर्वाचित तथा मनोनीत पदाधिकारीहरूको संयुक्त पदस्थापना गरिएको हो । बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ न्यु माछापोखरी, लायन्स क्लब अफ उर्जाशिल नुवाकोट, लायन्स क्लब अफ इपिक नुवाकोट, लायन्स क्लब अफ डायनामिकलगायतका लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । लायन्स वर्ष २०२६/२०२७ का लागि विभिन्न क्लबको अध्यक्षको जिम्मेवारी सम्हाल्नेमा लायन्स क्लब अफ न्यु माछापोखरीका बाबुराम खत्री, लायन्स क्लब अफ न्यु श्रीमाछापोखरीका मुक्तिनाथ सापकोटा, लायन्स क्लब अफ उर्जाशिल नुवाकोटकी मेनुका श्रेष्ठ, लायन्स क्लब अफ इपिक नुवाकोटकी सुनीता श्रेष्ठ, लायन्स क्लब अफ डायनामिकका पुजन श्रेष्ठ रहेका छन् ।

उक्त लायन्स क्लब अफ इपिक नुवाकोटको चार्टर ह्यान्डओभर तथा इन्स्टलेसन कार्यक्रममा क्लस्टर चिफ लायन सुवर्ण कँडेल, रिजन चियरपर्सन लायन रोजिता ओस्ती, जोन चियरपर्सन लायन कृष्णप्रसाद भट्टलगायतले नुवाकोटमा लायन्स अभियानलाई सशक्त र प्रभावकारी बनाउँदै सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वको क्षेत्रमा अगाडि वढाउने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा लायन्स इन्टरनेशनलको यस वर्षको मुख्य नारालाई आत्सात् गर्दै नेतृत्व, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने विषयमा जोड दिइएको थियो ।

बिदुर नपाका मेयर राजन श्रेष्ठले लायन्स क्लवले सामुदायिक गतिविधिमार्फत सेवामूलक कार्यलाई समुदायका आवश्यकतामा थप प्रभावकारी बनाउँदै लगेको वताए उनले सामुदायिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन लायन्स सदस्यको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

 


सर्वाधिक रुचाइएको