बाढीपहिरोले वनायो जोखिमपुर्ण सडकमार्ग

– तत्काल पुर्ननिर्माणको पहल
लोकखबर
२०८३ भाद्र ७, आईतवार ००:०४

बिदुर – दुई दिनसम्म परेको अविरल वर्षात्संगै नुवाकोटका विभिनन सडकमार्गमा क्षति पु¥याएको छ । कपितपय सडकमार्ग वन्द भएका छन् भने कतिपय सडकमार्ग आंशिक सन्चालनमा रहेका छन् । खोलामा वाढी आउंदा कतिपय सडकमार्ग कटान र पक्कि पुलमासमेत क्षति गरेको छ । अविरल वर्षात्संगै आएको बाढीले नुवाकोटवाट काडमाडौ प्रवेशका लागि छोटो दुरीको छहरे–टोखा–त्रिशूली सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै पुलमा क्षति गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त सडक छोटो दुरीको भएका कारण आमसर्वसाधारणले तत्काल पुर्ननिर्माणको माग गरेका छन् । उक्त सडकको विभिन्न स्थानमा पहिरो खसेको छ भने जोखिमसमेत वढाएको छ । उक्त सडकमार्गको वीचमा रहेको लिखु गाउँपालिका–१ ढिकुरेस्थित पक्कि मोटरेवल पुलमा खाल्डो परेका कारण यातायात सन्चालन जोखिमपुर्ण वनेको छ । उक्त पुलमा हाल साना सवारी साधन मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको छ । ठूला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ठुलो सवारीसाधनलाई लिखु गापा ३ स्थित गडखारपुल– चौघडा–बानियाँटार– आप्रा – बाहुनबेशी – फेदीबेशी हुँदै लिखु १ ढिकुरे मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । शिवपुरी गाउँपालिका–८ काफलडाँडामा सुख्खा पहिरो खसेका कारण छहरे सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालका अनुसार साना सवारी साधनहरूले सावधानी अपनाई आवतजावत गर्न अनुरोध गरिएको छ ।छहरे–टोखा–ढिकुरे सडकखण्डमा पहिरो र सडक भासिएपछि यात्रा गर्दा सतर्क रहन आग्रह गरिएको छ । अविरल वर्षात्का कारण छहरे–टोखा सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो गएको तथा सडक भासिएको हुँदा यातायात सञ्चालनमा कठिनाइ र जोखिम बढेको हो ।

नुवाकोटबाट काठमाडौं तथा काठमाडौं–नुवाकोट यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । सडकको अवस्था हेरेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नरोकिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझ केही समय लाग्ने भएकाले उक्त सडकखण्ड प्रयोग गर्ने सम्पूर्ण चालक तथा यात्रु महानुभावहरूलाई विशेष सावधानी अपनाई यात्रा गर्न अनुरोध गरिएको छ । सडक मर्मत तथा सुचारु गर्नका लागि हेभि इक्युपमेण्टहरु तयारी अवस्थामा राख्नु पर्ने सर्वसाधारणले माग गरेका छन् ।

बाढीले जालपादेवी मन्दिर जलमग्न
नुवाकोटको प्रसिद्ध त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटस्थित जालपादेवी मन्दिर जलमग्न भएको छ । दुवै नदीमा लगातारको वर्षात्पछि आएको वाढीले मन्दिर र परिसर जलमग्न वनाएको हो ।

त्रिशूली र तादी नदीमा शनिवार आएको ठूलो बाढीका कारण जालपादेवी मन्दिर जलमग्न भएको हो । त्रिशूली र तादीमा जलसतह बढेसँगै जालपादेवी मन्दिरमा बाढीको पानी पुगेको हो ।


सर्वाधिक रुचाइएको