पहिरो पीडितहरुलाई राहत सामग्री
बिदुर – अविरल बर्षात्का कारण नुवाकोटको पन्चकन्या गाउँपालिकाका विभिन्न स्थानमा बाढीपहिरोले घर क्षति गरेका किसानहरुलाई राहत सामग्री प्रदान गरिएको छ । पहिलो चरणमा नौ घर परिवारलाई विभिन्न प्रकारका राहत सामग्री उपलव्ध गराइएको छ । पन्चकन्या गापा ३, ४ र ५ को विभिन्न स्थानमा दुई दिन परिेको अविरल वर्षात् र पहिरोले नौ घरधुरी पुर्ण रुपमा क्षति भएको हुदा पहिलो चरणमा उनीहरुलाई खाद्यान्न, त्रिपाललगायतका सामग्री हस्तान्तरण गरिएको पन्चकन्या गापा कार्यालयले जनाएको छ ।

रुडेक नेपालको सहयोगमा नौ घरधुरीलाई शनिवार खाद्यान्न, त्रिपाल, कपडालगायतका सामग्री हस्तान्तरण गरिएको हो । पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष बिमला पाठककेसी, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले राहत सामग्री हस्तान्तरण गरेका हुन् । अविरल भीषण वर्षात्का कारण पुर्वी भेगमा रहेको पञ्चकन्या गापाका विभिनन स्थानमा वाढीपहिरोले ठूलो भौतिक क्षति गरेको छ ।

वर्षात् र पहिराले सडक पूर्वाधार, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी तथा खेती गरिएको जमिन कटान भएको गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाई छ । पालिकामा आई रुडेक नेपालले उपलव्ध गराएको राहत सामग्री पीडित परिवारलाई शनिवार हस्तान्तरण गरिएको हो । पहिरो प्रभावित तथा जोखिममा परेका वांकी घरपरिवारहरूलाई राहत वितरण र अस्थायी आवासको उचित व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

स्थानीय तहको सीमित स्रोत–साधनले मात्र क्षतिपूर्ति र पुनर्निर्माण सम्भव नभएकाले संघीय सरकार, प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा गैरसरकारी संघ–संस्थाहरूलाई सहयोग र सहकार्यका लागि अपिल गरेको छ । विपद्को समयमा प्रभावित नागरिकको साथमा रही राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने अभियान सुरु गरिएको रुडेक नजेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनले बाढी पहिरो प्रभावित अन्य घरपरिवारलाइसमेत श्रोत र साधनले पुगेसम्म राहत सामग्री सहयोग गरिने वताए ।





















































