सम्पदा संरक्षणमा विद्यार्थीहरु
बिदुर – आफ्नो ठाउँ, आफ्नो इतिहास र आफ्नो पुरातात्विक सम्पदाप्रतिको जिम्मेवारी नयाँ पुस्तामा विकास गराउने उद्देश्यले नुवाकोटको बिदुरमा विद्यार्थीहरुको सहभागितामा सम्पदा संरक्षण अभियान सन्चालन गरिएको छ । यसवाट विद्यार्थीहरुले पुरतातिवक सम्पदाको महत्व तथा संरक्षणका सम्वन्धमा जानकारी प्राप्त गरेका छन् । त्रिशूली सामुदायिक वोर्डिङ स्कुल र नेशनल वेथेल एकेडेमीको संयुक्त आयोजनामा नुवाकोटको ऐतिहासिक तथा पांचसय वर्ष पुरानो भैरवी मन्दिर परिसरमा सरसफाई तथा सम्पदा संरक्षण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले बिदुर नगरपालिका २ नुवाकोट टांकुरोस्ति भैरवी मन्दिर परिसरको सरसफाइ गर्नुका साथै आसपासका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्वबारे जानकारी लिएका छन् । विद्यालयमा किताबका पानामा पढ्दै आएको सम्पदा संरक्षणको विषयलाई व्यवहारमै अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यनलयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई सरसफाइमा सहभागी गराउनुका साथै आफ्नो ठाउँमा रहेका सम्पदालाई चिन्ने, त्यसको इतिहास र महत्व बुझ्ने, सम्मान गर्ने तथा संरक्षणका लागि आफूले पनि जिम्मेवारी लिन सक्ने विषयमा सचेत गराइएको थियो ।

सानै उमेरदेखि आफ्नो सम्पदा र संस्कृतिप्रति अपनत्वको भावना विकास गर्न सके भविष्यमा जिम्मेवार पुस्ता निर्माणमा सहयोग पुग्ने विश्वास आयोजक विद्यालयको रहेको छ । विद्यार्थीहरूको यस प्रयोगात्मक तथा प्रवद्र्धनात्मक सहभागिताले कार्यक्रमलाई प्रभावकारी, जीवन्त र अर्थपूर्ण बनाएको छ । विद्यार्थीहरु आफ्नै हातले मन्दिर परिसर सफा गर्दै, सम्पदाको महत्व बुझ्दै र संरक्षणको सन्देश फैलाउँदै विद्यार्थीहरूले “हाम्रो सम्पदा, हाम्रो जिम्मेवारी” भन्ने भावनालाई व्यवहारमै उतारे ।

सम्पदा संरक्षण केवल सरकारी निकाय वा कुनै निश्चित संस्थाको जिम्मेवारी मात्र नभई समुदाय, विद्यालय, युवा तथा नयाँ पुस्ताको साझा दायित्व पनि भएकाले यस प्रकारका व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, सामूहिक भावना र आफ्नो इतिहासप्रतिको अपनत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ । त्रिशूली सामुदायिक वोर्डिङ स्कुल र नेशनल वेथेल एकेडेमीको संयुक्त कार्यले विद्यार्थीलाई पढाइसँगै समाज, संस्कृति र सम्पदासँग जोड्ने सकारात्मक सन्देश दिएको छ । विद्यालय तहबाटै सुरु हुने यस्ता साना प्रयासले भोलिका दिनमा आफ्नो इतिहास र सम्पदाप्रति जिम्मेवार, सचेत र संवेदनशील पुस्ता निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
























































