मनकारी सुनिलको निरन्तर सहयोग, ज्येष्ठ नागरिक आश्रयस्थलमा मनाइयो जन्मदिन

लोकखबर
३ श्रावण २०७६, शुक्रबार १३:३०

मकवानपुर । मकवानपुरको हेटौंडा १५ निवासी सामाजिक अभियन्ता सुनील मोक्तानले आफ्नो जन्म दिन दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रय स्थलमा मनाएका छन् । विगत तीन वर्षदेखि आश्रममा जन्म दिन मनाउँदै आएका मोक्तानले यो वर्ष पनि आश्रमका लागि नगद १२ हजार रुपैया आर्थिक सहयोग गर्दै उनले जन्म दिन मनाएका हुन् ।

‘ज्येष्ठ नागरिक समाजका ऐना हुन्, उहाँहरुबाट हामीले धेरै कुरा सिक्न सक्छौं । ’ मोक्तानले भने, ‘मानिसहरु भगवान पुज्न मन्दिर जान्छन्, तर समाजका ज्येष्ठ नागरिक भगवान हुन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।’ आफूले ज्येष्ठ नागरिक आश्रय स्थलमा जन्म दिन मनाउँन थालेपछि अहिले धेरैले जन्मदिन मनाउँने, सहयोग गर्ने कार्य गर्दा आफूलाई खुशी लागेको मोक्तानले बताए । ‘जन्म दिन एउटा अवसर हो, सहयोग गर्ने कार्य अरु दिनमा पनि गर्न त सकिन्छ तर आजको दिनमा सहयोग गर्न पाउँदा छुट्टै अनुभूति हुन्छ । ’ आश्रयस्थलमा सहयोग हस्तान्तरण पछि मोक्तानले भने,‘होटल, पाटी–प्यालेसमा जन्म दिन मनाउँने नाममा खर्च गर्नुभन्दा सामाजिक अभियानमा सघाउ पुग्ने कार्यमा खर्च गर्दा मन खुशी हुने रहेछ ।’ समाजका जाने बुझेका व्यक्तिले आफ्नो जन्म दिन मनाउँदा वेसाहाराका लागि पनि सहयोग पुग्ने भएकाले हरेक वर्ष आश्रममा आएर जन्म दिन मनाउँने कार्यलाई निरन्तरता दिएको मोक्तानको भनाई छ ।

विगतमा आश्रममा जन्म दिन मनाउँदै सहयोग गर्ने खासै कोही नभएको बेलामा आफूले आरम्भ गरेको कार्यमा अहिले महिनामा २-४ जना व्यक्तिको जन्म दिन मनाउँने, सहयोग गर्ने कार्य भइरहँदा आफूलाई अझै सहयोग गर्न हौसला मिलेको मोक्तान बताउँछन् ।
मोक्तानको जन्म दिनको अवसरमा सहयोग हस्तान्तरण कार्यमा उपस्थित भएका दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रयस्थलका केन्द्रिय अभिभावक केदार न्यौपानेले आश्रय स्थलमा आएर जन्म दिनको अवसरमा सहयोग गर्नु प्रगतिशील सामाजिक रुपान्तरणको एउटा नमुनालायक कार्य भएको बताए । आश्रय स्थललाई सभ्यता सिकाउने पाठशाला बनाउँने अभियानमा जन्म दिनका अवसरमा गरिने यस्ता सहयोग उदाहरणीय कार्य भएको न्यौपानेले बताए ।

हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष रहेका मोक्तानले आश्रममा संरक्षणमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्यका लागि सघाउ पुगोस् भन्ने सोचले आर्थिक सहयोग गर्दै आएको बताए । मोक्तान राजनीतिक तथा विभिन्न सामाजिक अभियानमा सक्रिय रहेर आफ्नो भूमिका निर्वाह पनि गर्दै आइरहेका छन् । उनी नेकपा मकवानपुरको जिल्ला सदस्यका रुपमा राजनीतिक भूमिकामा सक्रिय छन् । नेपाल तामाङ् घेदुङ संघका केन्द्रिय सदस्य, स्थानीय चुरियामाई मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, धर्मचक्र महाकरुणी बौद्घ गुम्बाका अध्यक्ष, नेपाल शितोरियो कराँते मकवानपुरका अध्यक्षको जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

आफ्नो जन्मदिन सामाजिक कार्यमा सघाउ पु¥याउँदै मनाउँने मोक्तानले आफ्नो जेठो छोरोको जन्म दिन पनि विद्यार्थीलाई छात्रवृति सहयोग गर्न लगाएर मनाउँन उत्प्रेरित गरेका छन् । उनका जेठा छोरा सक्सेसले चुरियामाई माविमा अध्ययनरत गरीब, विपन्न विद्यार्थीलाई दश हजार रुपिया छात्रवृति सहयोग गर्दै हरेक वर्ष जन्म दिन मनाउँने गरेका छन् । ‘छोरालाई पनि सानै उमेरदेखि सहयोगी भावना जागृत गराउँदै सामाजिक कार्यमा लाग्न सिकाउँन पाउँदा खुशी छु । ’ मोक्तानले भने,‘हामीले गर्ने कार्यबाट समाजका अन्यलाई पनि सिकाई भयो भयो भने त्यहाँ खुशी मिल्दो रहेछ । ’

सामाजिक अभियन्ता मोक्तान जस्ता मनकारी दाताको सहयोगका कारण ज्येष्ठ नागरिक आश्रयस्थल आकर्षक एवम् मनमोहक बनेको बनाइएको छ भने त्यहाँ संरक्षित ज्येष्ठ नागरिक पनि खुशी छन् । आश्रयस्थलमा पुरुष १४ र महिला ११ जना गरी २५ जनाले आश्रय लिइरहेको आश्रयस्थलका केन्द्रिय अध्यक्ष टिआर निरौलाले जानकारी दिए । उनका अनुसार काठमाडौपछि मकवानपुरको हेटौंडामा शाखाका रुपमा स्थापना गरिएको आश्रयस्थल सामाजिक सभ्यता सिकाउँने थलोका रुपमा विकास भइरहेको छ ।

विभिन्न आकर्षक संरचना सहित २८ कठ्ठा क्षेत्रफलमा आश्रयस्थल स्थापित छ । आश्रयस्थलभित्र ४ सय जना भन्दा बढी अट्ने सभाहल, ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र, ज्येष्ठ नागरिक आयुर्वेद अस्पताल, ज्येष्ठ नागरिक पार्क, ज्येष्ठ नागरिक गौशाला, ज्येष्ठ नागरिक चमेना गृह, सुन्दर बगैंचा, शिव मन्दिर, बुद्घ मुर्ति रहेका छन् ।
वि.सं.२०५८ सालमा स्थापित आश्रय स्थलमा विभिन्न कारण वेसाहारा भएका ६० वर्ष देखि ९७ वर्ष उमेर सम्मका ज्येष्ठ नागरिक रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*