तीन विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

– एकैपटक ६ सय विद्यार्थीले न्यानो कपडा पाए 
लोकखबर
२०८३ आश्विन २५, आईतवार १८:१५

बिदुर – जाडोयामको सुरुवातसंगै नुवाकोटमा विद्यार्थीहरुलाई न्यानो सामग्री वितरण कार्य सुरु गरिएको छ । झण्डै ६ सय विद्यार्थीहरुलाई सुविधा पुगेको छ । बेलकाटगढी नगरपालिकाको विभिन्न तीन विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।  बेलकोटगढी नपाको नलगाउस्थित करुणाकर आधारभूत विद्यालय, महामाया मावि र रातमाटेको महादेव माविका विद्यार्थीलाई स्थानीयवासी तथा सामाजिक अभियन्ता सन्तोषी ढुंगानाले न्यानो कपडा वितरण गरेकी हुन् ।

तीनवटै विद्यालयमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा पांचसय ६७ जना विद्यार्थीहरुलाई सहयोग स्वरुप एक÷एक जोर ट्रयाक सुट उपलब्ध गराइएको हो । विद्यार्थीहरुको सहजतका लागि उक्त सहयोग गरिएको उनको भनाई छ । उनले विद्यालयमा विद्यार्थीको हितलाई सर्वोपरि राखि दलीय राजनीतिक प्रभावबाट विद्यालयलाई मुक्त राख्दै सबै बालबालिकाका लागि समान र विभेदरहित शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले आर्थिक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित हुन नदिन छात्रवृत्तिको सुनिश्चितता आवश्यक रहेको पनि वताइन् ।

टाढाबाट विद्यालय आउने बालबालिकाका लागि यातायात सुविधा उपलब्ध गराउनसमेत आग्रह गर्दै ढुंगानाले विद्यार्थीका व्यावहारिक कठिनाइ सम्बोधन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन् । ढुंगानाले न्यानो कपडा वितरण अभियान सामाजिक सेवामा केन्द्रीत रहेको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको पनि वताइन् ।   आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका आधारमा कुनै पनि विद्यार्थी शैक्षिक अवसरबाट वञ्चित हुन नहुने उनको जोड छ ।

झण्डै एक दशकदेखि विभिन्न व्यक्ति तथा समुदायलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएकी ढुंगानाले यसअघि नुवाकोटका विभिन्न विद्यालयमा कुल १५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकी छन् ।  पछिल्लो कपडा वितरण पनि उहाँको सामाजिक सहयोग अभियानकै निरन्तरता हो ।  ढुंगानाले बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङसँग भेटगरि शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थाको सम्वन्धमा जानकारी लिइन् ।


सर्वाधिक रुचाइएको