चाडपर्वसंगै बजार अनुगमन

– अखाद्य वस्तु जफत गरि नष्ट
लोकखबर
२०८३ आश्विन २५, आईतवार १८:३४

बिदुर – चाडपर्वको आगमनसंगै नुवाकोटमा बजार अनुगमन सुरु गरिएको छ । यसवाट उपभोक्ता सुरक्षाको अधिकार कार्यान्वयनमा जोड दिइएको छ । नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा बजार अनुगमन गरि अखाद्य बस्तु जफत गरि नष्ट गरिएको हो । उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा बजार व्यवस्थापनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ ककनी गाउँपालिकाले रानीपौवा बजारमा छड्के अनुगमन गरेको हो ।

ककनी गापाको निर्देशन तथा उद्योग विकास शाखाका प्रमुख खेमचन्द्र भण्डारीको संयोजकत्वमा ६ जनाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा दर्ता नभएका, नवीकरण नगरिएका र ककनी गाउँपालिकामा सूचीकृत नभई सञ्चालनमा रहेका व्यवसायिक फर्म तथा पसलहरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गरी दर्ता तथा नवीकरण गर्न कडा निर्देशन दिइएको टोलीले जनाएको छ ।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका तथा अखाद्य वस्तुहरू टोलीले जफत गरी ककनी गापा परिसरमा अध्यक्ष सुमन तामाङ ’सज्जन’ को रोहवरमा नियमानुसार पूर्ण रूपमा डिस्पोज (नष्ट) गरिएको ककनी गापाले जनाएको छ । गापा अध्यक्ष तामाङले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने छुट कसैलाई नभएको बताउँदै बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिइने बताए ।


सर्वाधिक रुचाइएको