धमाधम झोलुंगे पुल निर्माण
बिदुर – प्रलयकारी बाढीले नुवाकोटको व्यस्त त्रिशूली र ढुंगे वजारलाई जोड्ने दुई वटा पक्कि मोटरेवल पुल ध्वस्त पारेपछि उक्त स्थानमा आवतजावत ठप्प रहेको छ । दुई किलोमिटर माथि जडान गरिएको तुइन् र जीपलाइनमात्र हाल आवतजावतको विकल्प रहेको छ । विदुर नगरपालिका –१ ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।
त्रिशूलीमा आएको बाढीले पुल बगाएपछि प्रभावित आवागमन सहज बनाउन ढुङ्गेदेखि त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको छ । बान्द्रे गुम्बा र त्रिशूली जोड्ने झोलुङ्गे पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । हाल पुलको लट्ठा तान्ने र मिलाउने कार्य भइरहेको छ । वडादशैं अगाडि नै उक्त पुलवाट आवतजावत सुरु गरिने निर्माण व्यवसायी महासंघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल निर्माण कार्यमा तार तान्ने काम सम्पन्न भएको छ । अवदेखि डेक–बिम ओछ्याउने काम सुरु हुने भएको छ भने पुल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको र आम नागरिकलाई केही दिन धैर्य गर्न नुवाकोट निर्माण व्यवसायी संघले आग्रह गरेको छ ।
यसका साथै गाडी वारपार गर्नका लागि नुवाकोटको विदुर नपा–१ ढुंगे र त्रिशूली जोड्ने वेलिव्रिजको निर्माण कार्य छिटो सुरु गर्न स्थानीयवासीले माग गरेका छन् । हामीलाई वेलिव्रिज निर्माण नगरेर दोश्रो कर्णालीलाई जस्तै व्यवहार गरिएको स्थानीय युवा महेन्द्र श्रेष्ठले गुनासो गरे ।












































