कैलाश गाउँपालिकाको बजेट यस्तो, गरीबको घरको खरको छानो हटाई जस्तापाता हालिने

गाउँसभा भएन भन्नु भ्रम : अध्यक्ष टंक मोक्तान
लोकखबर
१९ श्रावण २०७६, आईतवार २१:२१

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा खरको छाना हालिएका घर हटाई जस्ताको छाना छाउँने अभियान गाउँपालिकाले गरेको छ । गाउँपालिकामा रहेका विपन्नले आर्थिक अभावका कारण जस्तापाताले घर छाउन नसकेकालाई खरको छानामुक्त गराउन बजेट नै विनियोजन गर्ने गरिएको छ । गत आर्थिक वर्षमा पनि खरको छाना हटाएर जस्तापाताको छाना हाल्ने कार्यक्रम गरेको गाउँपालिकाले यो आर्थिक वर्षमा पनि गरिब समुदायको घरको छाना बलियो बनाउँन बजेट विनियोजन गरेको छ ।

गाउँपालिकामा खरको छाना भएका विभिन्न वडाका घरमा जस्तापाता छाउँने कार्यक्रम लगायत विभिन्न योजनाका लागि आर्थिक वर्ष २०७६/७७ का लागि कूल ३८ करोड ४२ लाख ७४ हजार रुपिँयाको बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अनुसार चालूतर्फ १६ करोड ८३ लाख ३९ हजार र पुँजीगततर्फ २१ करोड ५९ लाख ३५ हजार रुपियाँ बजेट रहेको छ ।

अध्यक्ष टङ्क मोक्तानका अनुसार जेठ २३ गतेबाट सुरु भई असार ३० गते समापन गरिएको पाँचौ गाउँसभाले गाउँपालिकाका लागि आवश्यक विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको हो । गाउँ कार्यपालिकाका सदस्यका बिचमा वडामा सिलिङ बजेटका विषयमा सहमती हुन नसकेको तथा गाउँसभा नभएको भन्ने समाचार मकवानपुरका स्थानीय तथा अन्य राष्ट्रिय सञ्चार आएपनि त्यसमा कुनै सत्यता नभएको अध्यक्ष मोक्तानले आइतबार हेटौंडामा पत्रकारसंगको भेटमा बताए ।

अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाको बजेटमा गरीबका छोराछोरीलाई स्नातकसम्म अध्ययनको व्यवस्था पनि बजेटबाट मिलाइएको छ । गाउँपालिकाले सडक निर्माण कार्यलाई प्राथमिकता दिएको छ । चुनियाँबाट नामटार, कालिकाटार, भार्ता, सानोडाँडाखर्क, छ्याङदुङ, खोलाखर्क, बरभन्ज्याङ, पकनी, गोगने हुँदै डाँडाबाससम्म निस्कने सडकमा १२ महिना सवारी सञ्चालन गर्ने व्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले आवश्यकताका विभिन्न क्षेत्र सडक, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास लगायतमा बजेट विनियोजन गरेको जनाइएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*