फागुपुर्णिमाको अवसरमा बिदुरमा वृहत रथयात्रा

– महिलाहरुको उल्लेख्य सहभागिता
लोकखबर
२०८२ फाल्गुन १८, सोमबार २२:०७

बिदुर– महिलाहरुको उल्लेख्य सहभागितामा फागुपूर्णिमा पर्वको अवसरमा सोमवार नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा गरिएको छ । सो अवसरमा सर्वसाधारणले एकआपसमा विभिन्न रंग दल्दै र शुभकामना दिदै फागु पर्व मनाएका हुन् ।

फागुपूर्णिमा तथा होली पर्वका अवसरमा विदुर नगरपालिका ४ विदुरस्थित लोकतान्त्रिक चोकमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मन्दिरको अविर र रंग मिश्रित रथयात्रा निकालिएको हो । रथ यात्रा हरेक वर्ष स्थानीय महिला दिदीबहिनीको अगुवाइमा निकालिने र त्यसमा पुरुषको सहयोग हुने गर्दछ ।

रथयात्राले सकारात्मक सोचाइको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा अगुवाई गरेका लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका सचिव नवराज पाण्डेको भनाई छ । उनका अनुसार सदियौदेखि नै फागुपूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।

विदुरस्थित लोकतान्त्रिक चौतारोमा अवस्थित लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्रा विदुरस्थित विभिन्न टोल, चोक, बस्ती र समुदायको परिक्रमा गराएर पुनः सोही मन्दिरमा नै रहेर विसर्जन गर्ने गरिएको रथयात्रामा सहभागी स्थानीय युवा रुकमवहादुर हमालको भनाई छ । रथयात्राको परिक्रमा गराएमा लोक तथा समुदायको हित हुने, रोग ब्याधा तथा दुःखकष्ट हटेर जाने जनविश्वास रहेको छ ।

यस वर्षको लक्ष्मीनारायण मन्दिरमा निकालिएको सामूहिक होलीको रथयात्रामा विभिन्न दलका उम्मेदवारहरुलेसमेत साथ दिएका थिए । नुवाकोट २ का लागि प्रतिनिधि सभाका लागि नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डे र नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीलेसमेत रथयात्रामा सहभागिता जनाएका छन् ।

रथयात्रामा सहभागी लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष मनोरथ श्रेष्ठले मौलिक संस्कृति तथा परम्परालाई जीवन्त राख्न महिला दिदी वहिनीहरुको विशेष योगदान रहेको वताए । फागुपूर्णिमा तथा होली पर्वका अवसरमा सोमवार नुवाकोटकै वेलकोटगढीमा रहेको वासुकीस्थान, तारकेश्वर, दुप्चेश्वर, तादीलगायत विभिन्न देवालयहरुमा दर्शनार्थीहरुको भीड लागेको थियो ।


सर्वाधिक रुचाइएको