सदियौं पुरानो देवीघाट जात्रामा गरियो भविष्यवाणी
बिदुर – यसअघिका वर्ष जस्तै यस वर्ष पनि नुवाकोटको त्रिशूली र सुर्यमति (तादी) नदीको संगमस्थलमा रहेको देवीघाटस्थित जालपादेवी मन्दिरमा विशेष मेला सम्पन्न भएको छ । मन्दिर नजिकै रहेको त्रिशूली नदीमा नुहाउनेहरु हजारौंको भिड लागेको थियो । हरेक वर्ष ठुलो भीडभाड र ठेलमठेलका साथ देवीघाटस्थित जालपादेवी मन्दिर क्षेत्रमा लागेको मेला शुक्रवार सकिएको छ ।

सदियौंदेखि चैत्र शुक्ल पूर्णिमाको दिन चल्दै आएको नुवाकोटको प्रमुख तथा ऐतिहासिक जालपादेवी जात्रामा आगामी वर्ष देशमा हुने घटनाक्रमहरुको भविष्यवाणी गोप्य रुपमा राष्ट्रपतिलाई पठाइदै आएको छ । यस वर्षसमेत मेलामा गरिएको भविष्यवाणी गोप्य रुपमा राष्ट्रपतिकहां पठाइएको छ । यस वर्ष जालपादेवीमा १० हजार तीर्थालुले मेला भरेका छन् । मेला भर्नका लागि नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, चितवन, मकवानपुरलगायत देशका धेरै स्थान तथा भारतवाटसमेत तीर्थालुहरु आउने गरेका छन् ।

यस वर्ष मेलामा गत वर्षको तुलनामा धेरै तीर्थालु आएको पुजारी शंकर चित्रकारले वताए । मन्दिरमा यस वर्ष मेलाको अवसरमा विहीवार राती पुजारीले पुजापाठ विधि गरे । वैशाख पुर्णिमाको अवसरमा प्रत्येक वर्ष हुने यस मेलामा देशमा आगामी वर्ष हुने घटनाक्रमहरुको गोप्य रुपमा भविष्यवाणी गरेर राष्ट्रपतिकहां लैजाने प्रचलन रहेको छ ।
धामीले गोप्य रुपमा गरेको भविष्यवाणी दुतलाई मात्र जानकारी हुने गरेको छ ।

धामीले प्रसिद्ध त्रिशूली र सुर्यमति नदीको किनारमा रहेको जालपादेवी मन्दिरमा सञ्चालित जात्रामा मात्र भविष्यवाणी गर्ने गरेका छन् । धामीले गरेको भविष्यवाणी द्वारेमार्फत शितल निवास राष्ट्रपतिकहां पु¥याउने चलन रहेको छ । धामीले आगामी वर्ष देशमा हुने घटनाक्रमको विषयमा गरिने भविष्यवाणी पहिले राजालाई पठाउने गरिएकोमा देशमा गणतन्त्र आएसंगै १९ वर्षदेखि राष्ट्रपतिकहां पठाउने गरिएको छ ।

मन्दिरमा पुजापाठ गर्दै आएका शंकर चित्रकारका अनुसार सो मेलाका लागि सरकारीस्तरवाट पांच वटा वोका, पांच वटा रांगा तथा एक/एक वटा हांस तथा कुखुरा वली चढाउनका लागि दिने प्रचलन रहेको छ । मेलामा हजारौं मानिसहरु त्रिशूली र तादी नदीको संगमममा रहेको जालपादेवी मन्दिर परिसर पुगेका थिए । देशभरि रहेका १२ जना धामीमध्ये नुवाकोटको धामी विशेष र महत्वपुर्ण धामी रहेका कारण धामी हरिमानसिह डंगोलले देशमा आगामी वर्ष घट्ने घटनाहरुको घटनाक्रमको भविष्यवाणी गर्ने प्रचलन रहेको छ । धामीले जीवनभर कुनै पनि नदी तर्न हुंदैन भन्ने जनविस्वास पनि रहदै आएको छ ।

पुजारीले नित्य पूजा गरेर मेला विशेष रुपमा लागेको मूल पुजारी वृद्ध रणवहादुर चित्रकारले भने । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने देवीघाट जालपादेवीको मेलामा सहभागी भएर त्रिशूली नदीमा नुहाएमा फलिफाप हुन्छ भन्ने धार्मिक विश्वास छ । चैत शुक्ल पूर्णिमाको दिन त्रिशूलीमा स्नान गरी दिवंगत आफन्तको नाममा बत्ती बाल्ने परम्परा छ ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत देवीघाट जालपादेवीको जात्राले निरन्तरता पाउनुका साथै मन्दिर र आसपास नयां र आकर्षक संरचनाहरु मर्मत गरिनुका साथै तीर्थालुहरुको सुविधाका विविध सुधार कार्य गरिएको छ । यो स्थान विदुर नपा–५ देवीघाटस्थित प्रसिद्ध त्रिशूली र तादी नदीको किनारामा रहेको छ । चार दिनसम्म विशेष रुपमा मनाइने जात्राको पहिलो दिन भैरवी मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले स्नान गरेर महावली दिनुपर्ने प्रचलन रहेको जालपाक्षेत्र विकास समितिका उपाध्यक्ष नवीन चित्रकारले वताए ।

उनका अनुसार जालपादेवी मन्दिर परिसरमा आफ्ना दिवंगत पितृहरुको सम्झनामा भक्तजनहरुले पुर्णिमाको दिन रातभरजाग्राम वसेर महाद्विप प्रज्वलन गर्ने गरेका छन् । विशेष कपडा पहिरिएर राती धामी र धमिनीले महावली लिएर केही समय आराम गरेपछि मध्य राती नै नेपाली सेनाको जवानहरुले बुढी देवी मन्दिर र भैरवी मन्दिरमा लिङ्गो उठाउनु पर्ने चलन रहेको छ । लिङ्गो उठाउने कार्य पहिले बुढी देवी मन्दिर र त्यसपछि भैरवी मन्दिरमा उठाइने प्रचलन रहेको छ ।

जात्राको चौथो दिन नुवाकोटमा लाग्ने सिन्दुरे जात्राको लागि देवीघाटमा रहेको जालपा मन्दिरमा भैरवी देवी निमन्त्रणाको लागि देवीघाट जाने प्रचलन रहेको किवदन्तीहरु पनि पाइन्छ । नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालय तथा भैरवी मन्दिर परिसरमा लाग्ने नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको लागि भैरवी गुठीले आवश्यक सबै तयारी पूरा गर्नु पर्ने प्रचलन रहेको छ । देवीघाटको पूर्णिमा अर्थात धामी जात्रामा सहभागी हुन हजारौं जात्रालुहरु देवीघाट पुग्ने गरेका छन् ।

त्रिशूली र सुर्यमति नदीको किनारमा रहेको जालपादेवी मन्दिरमा सञ्चालित जात्रामा विभिन्न उत्पादनहरुको व्यापारसमेत हुने गरेको छ । मेलामा नुवाकोटको जालपादेवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेनालाई भ्याइनभ्याई भएको थियो । चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दुरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त रहेका छन् ।

देवीघाटको जालपादेवी र साततले दरवार क्षेत्रमा रहेको भैरवीस्थित सिन्दुर जात्राको सुरु देखिको सबै प्रक्रिया पुरा गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए । उनले ‘सिन्दुरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दसैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि सुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कामहरु गरिएका छन्’, द्वारे शाहीले भने ।

नुवाकोटको भैरवी मन्दिर र देवीघाटको जालपा मन्दिरमा सञ्चालन हुने यो जात्रा नेपालकै धेरै दिनसम्म सन्चालन हुने जात्रामध्येको एक हो । लामो रथयात्रा हुने मेलामा पनि यहाँको भैरवीको रथयात्रालाई लिने गरिन्छ । त्रैयोदशीमा लिंगो उठाउने, चतुर्दशीको दिन भैरवीको रथ यात्रासहित देवीघाटको जालपा मन्दिर जाने, त्यहाँ पूर्णिमाको दिन विहान पूजालगायत भोग खाने, प्रतिपदाको दिन खाल्चा र द्वितीयको दिन नुवाकोटको भैरवी मन्दिरमा सिन्दुरे जात्रा गरिने यो अवसरमा हजारौँको सहभागिता हुने गरेको छ ।

रथयात्राको क्रममा बाटोमा रथपूजा र धामीधमिनीको पूजाका लागि हजारौँ सहभागी हुने गर्दछन् । मेलामा हजारौँ जात्रालु जिल्लाभर र अन्य जिल्लाबाट पनि आउने गरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ । शाक्य सम्बत् १६९० देखि निरन्तर संचालन हुँदै आएको नुवाकोटको प्रसिद्ध भैरवी वर्ष बन्धन (देवीघाट र सिन्दुरे जात्रा) का सबै कार्यक्रमहरु भएका हुन् । जालपादेवी मन्दिरसम्म पुग्नका लागि यातायातका सुविधा भएका कारण पनि तीर्थालुहरुको आकर्षण वढ्दै गएको छ ।














































