गोठबाट नयाँ घरमा सर्दा आइतीमायाको यो खुशी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७, भीरकोटकी ७९ वर्षिय वृद्दा आइतीमाया राई कान्न सुन्न सक्दिनन् । अरुले इसारामा उनलाई भन्नुपर्ने कुरा बुझाउँनुपर्छ । भूकम्पको जोखिम वर्गको सूचीमा रहेकी आइतीमायाको घर भूकम्पले भत्कायो । घर भत्काएपछि गोठमा बस्दै कष्टकर दैनिकी गुजारेकी आइतीमायाको यतिबेला आफ्नै घर तयार भएको छ र केही समय देखि आफ्नै नयाँ घरमा बस्दै आइरहेकी छिन् । उनलाई नयाँ घर निर्माणका लागि बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालले सञ्चालन गर्दै आइरहेको सर्भ परियोजनामार्फत सहयोग पुर्याइएको हो । भूकम्पले घर भत्काएपछि पीडामा गोठमा कष्ठकर जीवन बिताउँनु परेको ती दिनका पीडा अहिले नयाँ घरमा सरेर आइतीमायाले भुलाएकी छिन् ।
नेपाल पुननिर्माण प्राधिकरणको भूकम्पको जोखिम वर्गको लाभग्राही सूचीमा परेकी आइतीमायालाई नेपाल सरकारले दिने अनुदानका अतिरिक्त परियोजना मार्फत ५० हजार तथा घर निर्माणका लागि आवश्यक सम्पूर्ण सहयोग पुर्याइएपछि घर निर्माण कार्य पूरा भएको हो । आइतीमायाको साथमा ८० वर्षिय श्रीमान् रामबहादुर राई छन् । बुढेशकालमा यी दुई एक अर्कालाई साथ दिइरहेका छन् । भूकम्पले आफू बस्दै आइरहेको घर भत्काएपछि भने आफू अब साहारा विहीन भइयो भन्ने लागेको रामबहादुरले भने । ‘आफू बस्दै आइरहेको घर भूकम्पले भत्काएपछि अब साहारा नै गुम्यो भन्ने लागेको थियो ।’ आइतीमायाका रामबहादुरले भने,‘हामी बेसाहाराको साहारा बनेर परियोजना आइदियो, गोठमा दिनरात बिताउँनेलाई भूकम्प प्रतिरोधी घरमा ल्याइदियो ।’ रामबहादुरले नयाँ घर पाउँदाको खुशी सुनाइरहँदा आइतीमाया मुस्कुराइन् । भूकम्पले भत्काएको घर निर्माणका लागि परियोजनाबाट आइतीमायालाई दुई किस्ता गरी ५० हजार सहयोग गरिएको थियो । परियोजनाबाट आर्थिक तथा प्राविधिक सहयोग नगरिएको भए आइतीमायाको घर कहिले बन्ने निश्चित थिएन ।
आफ्ना दुई जना छोरा भएपनि आफ्नै आफ्नै हिसाबमा रहेकाले जीवनमा सङ्घर्ष गर्दै यी दम्पतिले दैनिकी बिताइरहेका छन् । परियोजनाको सहयोग मार्फत पाइएको भूकम्प प्रतिरोधी दुई कोठे घरमा आफ्ना जीवनका सुख, दुःखको यात्रा गर्न पाएकोमा उनीहरु दङ्ग छन् । बेलैमा सहयोग नआएको भए अहिलेसम्म पनि गोठमै बस्नुपर्ने अवस्था हुने थियो भन्ने उनीहरुलाई लाग्छ । भूकम्प प्रतिरोधी घरमा निर्धक्क बस्न पाउँदा उनीहरु खुशी देखिन्छन् । परियोजना आफूहरुको साहारा बनेर आएकोमा रामबहादुरले बताए । ‘दुःख पाएका मान्छेलाई कसले हेर्ला र भन्ने लाग्थ्यो तर हामीलाई झक्झक्याउँदै आवश्यक सहयोग गर्दै घर निर्माण गरिदिनु भएकोमामा आभारी छौं ।’ आइतीमायाका श्रीमान् रामबहादुरले भने ।