परियोजनाबाट सहयोग पाएपछि सफलताको यात्रामा सहयात्री

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, हात्तिसुडेमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थालाई बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरिरहेको सर्भ परियोजनामार्फत सहयोग गरिएको छ । अगस्ट २०१८ बाट सुरु गरिएको परियोजनामार्फत प्रदान गरिएको तालिम, सहकारी व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग लगायत परियोजनामार्फत आवश्यक सघाउ पुर्याइएका कारण सहकारी विकासमा लम्किएको छ । वि.सं.२०७१ साल वैशाख ९ गते स्थापना भएको सहकारीमा परियोजनापछि सदस्य सङ्ख्या वृद्दिमात्र भएको छैन । सहकारीका लागि आवश्यक विभिन्न नीति निर्माण समेत गरिएको छ । स्थापनाताका ७२ जना सदस्य भएको सहकारीमा परियोजना सुभारम्भ हुँदा २ सय ३८ जना रहेका थिए भने सहकारीमा हाल ८७७ जना रहेको जना सदस्य रहेका छन् । महिला ५६३ र पुरुष ३१४ जना सदस्य रहेका छन् । विगतमा सहकारीमा आबद्घ हुनुपर्छ भन्ने भावना स्थानीयहरुलाई नभएको अवस्थामा सहकारीको महत्वबारे जानकारी पाएपछि सहकारीमा सदस्य वृद्दि भएको हो ।
परियोजनामार्फत गाउँमा सञ्चालित वित्तिय साक्षरता कक्षामा सहभागी भएकाहरु सहकारीमा आबद्द हुने, बचत गर्ने, ऋण लिने विभिन्न उद्यम गर्ने कार्य भएपछि सहकारी प्रदान गरिएको सहयोग प्रभावकारी भएको छ । परियोजनामार्फत संस्थाले सहयोग गर्नु अघि सहकारीको कारोबार ४८ लाख रुपिया थियो भने अहिले एक करोड २६ लाख भन्दा बढीको कारोबार गरिरहेको छ । स्थापनाका बेला १ लाख ८० हजार शेयर पुजीं र ७ हजार २ सय बचत रहेकोमा अहिले शेयर पुजी २३ लाख तथा बचत ५२ लाख रुपिया पुगेको छ । सहकारीमा विगतमा बचत तथा ऋण नीति मात्र थियो भने सहकारीका सदस्यलाई विभिन्न समयमा प्रदान गरिएको सहकारी सञ्चालन, व्यवस्थापन, सुशासन, लेखा व्यवस्थापन सम्बन्धि विभिन्न तालिममा सहकारीका पदाधिकारी सहभागी भएपछि अहिले सहकारी सञ्चालनका लागि आवश्यक पर्ने नीति सहकारीले बनाएको अध्यक्ष सिताराम दहाल बताउँछन् । परियोजनाको सहयोगमा सहकारीले बचत नीति, ऋण नीति, सदस्यता तथा शेयर नीति, आर्थिक प्रशासन नीति, सुशासन नीति, समूह व्यवस्थापन नीति, सदस्यता राहत नीति लगायत नीति निर्माण गरेको हो ।
सहकारीले अहिले अन्य सेवा रेमिटेन्स, इबैंङ्किङ् मार्फत बिजुलीको बील भुक्तानी, डिसहोमको रिचार्ड लगायत सेवा पनि प्रदान गरिरहेको छ । रेमिटेन्स सेवा तथा बिजुलीको बील तिर्न हेटौंडा बजारसम्म जानुपर्ने सदस्यको बाध्यता हटेका छ । परियोजनामार्फत सहकारीलाई सहयोग गरिएको सफ्टवेयरबाट लेखा प्रणालीको काम समेत भइरहेको छ । यसले सहकारीको लेखा व्यवस्थापनका लागि सहज भइरहेको अध्यक्ष सिताराम दहाल बताउँछन् । परियोजना अघि कृषि, व्यापार,व्यवसाय र शैक्षिक ऋण प्रदान दिदै आएको सहकारीले अहिले विभिन्न प्रकारका ऋण थप गरेको छ । अहिले बैदेशिक रोजगारी, आपतलकालीन, पशुपालन लगायत ऋण सहकारीका शेयर सदस्यलाई प्रदान गर्दै आइएको छ। सहकारीले सर्भ परियोजनाकै सहयोगमा पञ्च वर्षिय व्यवसायिक योजना पनि निर्माण गरिएको छ । व्यवसायिक योजनामा सहकारीले आगामी पाँच वर्षभित्र तीन हजार जना सदस्य पुर्याउँने तथा पाँच करोड रुपिया कारोबार गर्ने लक्ष्य पनि राखेको छ । परियोजना अघि सहकारीलाई जेनतेन सञ्चालन गर्दै आइएकोमा परियोजनापछि सहकारी व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको छ ।