‘व्यवस्था अनुसार आचरण परिवर्तन हुन नसकेकाले जनतामा असन्तुष्टी’
मकवानपुर । प्रदेश ३ का मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले व्यवस्था बदलिएपनि आचरण र काम गर्ने शैली परिवर्तन हुन नसकेकाले जनता असन्तुष्ट हुँदै गएको बताएका छन् ।
स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्ताहरुलाई सम्बोधन गर्दै उनले जनताको असन्तुष्टि हटाउँने गरी नयाँ शैलीका साथ कार्यसम्पादनमा लाग्न पनि उनले सहजकर्तालाई निर्देशन दिए । मन्त्री जमरकट्टेलले भने,‘अशिक्षित, दुखी, गरिब र असाहय जनताहरुले कानूनी तथा अन्य सरकारी सेवा सुविधा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाहरुमा सहजीकरण गरिदिनु होला ।’
सहजकर्ताहरुलाई उनले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसंग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए ।
मन्त्री जमरकट्टेलले स्थानीय तह, केन्द्र र प्रदेश सरकार बिच सहकार्य भएमात्र सघीयता सफल हुने बताए ।
प्रदेशका विभिन्न ७ वटा जिल्लाका ५७ जना कानूनी सहजकर्ताहरु तथा स्थानीय तहका ५७ जना उपप्रमूखहरु ७ जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमूखहरुको सहभागिता रहेको कानूनी सहजकर्ता अभिमुखीकरण तालिम कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले अधिकांश स्थानीय तहहरुले प्रदेश सरकारले पठाएको इमेलहरुको जवाफ नपठाएको बताउँदै त्यसो नगर्न अनुरोध गरे । उनले एउटा सरकारले अर्को सरकारलाई बेवास्ता गर्दा वर्तमान राज्य ब्यवस्था माथि नै प्रश्न चिन्ह खडा हुने बताए । प्रदेश सरकारले जारी गरेको संस्था दर्ता ऐनको कार्यान्वयन तथा अन्य ऐनहरुको पालना गराउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
प्रदेशका मुख्य न्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिहरुले गरेका निर्णयहरुका कारण समाजमा सौहार्दता छाएको बताए ।