खेल

विश्वकप छनोटको दोस्रो चरणमा अस्ट्रेलियासँग नेपाल ५-० ले पराजित

लोकखबर
२४ आश्विन २०७६, शुक्रबार १०:३३

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नतिजा नेपालको विपक्षमा आएपनि प्रत्यासित रुपमा लज्जास्पद भने भएन ।

नेपालभन्दा वरियतामा धेरै माथि रहेको र निरन्तर विश्वकपमा सहभागी भइरहेको अस्ट्रेलियासँग नेपाल योभन्दा विशाल अन्तरले पराजित हुनसक्ने धेरैको आँकलन थियो । नेपाल तथा अस्ट्रेलिया दुवै देशका प्रशिक्षकले भारी अन्तरको नतिजा निस्किने प्रतिक्रिया दिएका थिए ।

अस्ट्रेलियाका जिमि म्याकलेमको ह्याट्रिक तथा ह्यारी सौटरले २ गोल गरेका थिए । नेपाल सुरुवातादेखि नै निरन्तर दबाबमा थियो । खेलको छैठौं मिनेटमै अस्ट्रेलिया सुरुवाती अग्रता लिन सफल भयो । नेपालका गोलकिपर किरण चेम्जोङले सेभ गरेको बल रिबाउन्ड भएपछि जिमिले त्यसकाे फाइदा उठाउँदै पहिलो गोल गरेका थिए । १९ औं मिनेटमा जिमिले नै दोस्रो गोल थपे ।

२४ औं मिनेटमा ह्यारीले अग्रता तेब्बर बनाए । त्यो उनको डेब्यू गोल पनि थियो । ५९ औं मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा गोल गर्दै जिमिले अस्ट्रेलियाका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

विश्वकप छनोटअन्तर्गत अहिलेसम्म ३ वटा खेल खेलेको नेपालको यो दोस्रो हार हो । गत महिना पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो । सो खेलमा दवै गोल अन्जन विष्टले गरेका थिए ।

अष्ट्रेलियाले भने आफ्ना दुवै खेल जितेको छ । यसअघि उसले कुवेतलाई ३–० ले पराजित गरेको थियो ।

नेपाली टिम :

गोलकिपर: किरण चेम्जोङ (कप्तान)
फिडेन्स: रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ
मिडफिल्ड: रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्ट, रवि पासवान, विशाल राई
फरवार्ड: अभिषेक रिजाल

प्रयुक्त सब्स्टिच्युट :
सन्तोष तामाङ, विक्रम लामा, विमल घर्तिमगर

शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*