सीसीटिभी नहुँदा हेटौंडा बजारमा चोरी बढ्दो
मकवानपुर । मकवानपुरको हेटौंडा बजारमा आपराधिक घटना न्यूनिकरणमा सघाउ पुर्याउँने भन्दै सीसीटिभी क्यामरा जडान भयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कन्ट्रोल रुम रहने गरी हेटौंडाको विभिन्न चोकमा सिसि क्यामरा राखियो । मुख्य मुख्य चोकमा राखिएका सीसी क्यामराका कारण केही महत्वपूर्ण आपराधिक घटनामा संलग्नलाई कारवाहीको दायराम ल्याउँन प्रहरीलाई सफलता पनि मिल्यो । तर अहिले सीसी क्यामरा बिग्रिएको छ । हेटौंडा बजारमा आपराधिक घटना न्यूनिकरण गर्ने प्रहरीको अभियानमा सघाउ पुर्याउँने सीसी क्यामरा अभाव भएको छ ।
पछिल्लो समय हेटौंडामा चोरीका घटनामा पनि वृद्दि भएका छन् । सीसी टिभी मर्मत गरेर पुन : सञ्चालनमा ल्याउँन सकिए अपराधमा संलग्न भएकालाई कारवाहीको दायरामा ल्याउँनका लागि सहज हुने भएकाले यसतर्फ ध्यान दिन व्यवसायीले आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौँडा बजार क्षेत्रमा बढ्दै गइरहेको चोरीको घटनामा संलग्नको पहिचान गराउँन सीसी क्यामरा पुन : सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औल्याए । ‘पछिल्लो समय हेटौंडा बजारमा चोरीका घटना बढिरहेका छन् । ’ न्यौपाने भन्छन्, ‘सीसीटिभी समयमा मर्मत नहुँदा चोरी गर्नेहरुलाई पहिचान गर्न समेत समस्या भएको पाइएको छ ।’ उनले चोरीमा संलग्न हुनेको पहिचान गरी कारवाहीको दायरामा ल्याउनका लागि सीसी क्यामरा प्रयोगमा ल्याउँन आग्रह गरे ।
हेटौंडामा पत्रकार सम्मेलन गर्दै न्यौपानेले सीसीटिभि जडान भएका बेला चोरीका घटनामा कमी आएको भएता पनि अहिले फेरी समस्या उस्तै भएको गुनासो गरे । आफ्नो व्यवसायको सुरक्षा गर्नका लागि व्यवसायीलाई सीसीटिभीले साथ दिएकोमा पुन : प्रयोग गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाई छ ।