मकवानपुरगढी गाउँपालिकाको नमूना कार्य

मकवानपुरगढीका ४० विद्यालयका विद्यार्थीलाई खाजा

गाउँपालिकाका ३ हजार ५ सय ५० जना विद्यार्थीलाई दैनिक पन्ध्र रुपिया दरले खाजा
१ मंसिर २०७६, आईतवार ११:२९

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेका ४० वटा विद्यालयका विद्यार्थीलाई दिवा खाजा व्यवस्था गरिएको छ । शिशु देखि ५ कक्षासम्मका विद्यार्थीलाई गाउँपालिकाले दिवा खाजा व्यवस्था गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।
दिवा खाजा व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थी नियमित आउन थालेका छन् भने विद्यालय छाड्ने क्रम रोकिएको छ । ‘गाउँपालिकाले व्यवस्था गरेको दिवा खाजाका कारण विद्यार्थी नियमित आउँन थालेका छन् ।’ अध्यक्ष हुमागाईंले भने, ‘ड्रप आउटको संख्या शुन्य भएको छ ।’ गाउँपालिकाले सुभारम्भ गरेको दिवाखाजा कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष हुमागाईंको भनाई छ ।
गाउँपालिकाको आमभञ्ज्याङमा रहेकोसरस्वती प्राविमा गत वर्ष ४८ जना विद्यार्थी भर्ना भएकोमा नियमित आउँने ३२ जना थिए भने अहिले भर्ना भएका ७७ जना विद्यार्थी विद्यालयमा नियमित आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक चतुर्भुज पौडेल पहिले भर्ना हुने तर बिचमै कक्षा छाड्ने आफ्नो विद्यालयका विद्यार्थीलाई दिवा खाजा कार्यक्रमले विद्यालयमा नियमित आउँने बनाएको बताउँछन् ।
तामाङ समुदायका आर्थिक रुपमा विपन्न विद्यार्थीलाई दिउश खाजा खान समस्या हुने गरेकै कारण विद्यालय छाड्ने गरेको थिए । गाउँपालिकाले खाजा व्यवस्था गरिदिएपछि विद्यालय छाडेका विद्यार्थी समेत विद्यालय फर्कन थालेका छन् । मकवानपुरगढी गाउँपालिका ५ मानेडाँडास्थित मञ्जुश्री प्राविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य अहिले आफ्नो विद्यालयमा विद्यार्थीको संख्या दोब्बर भएको बताउँछन् । उनका अनुसार पहिले २५ जना रहेको तीन कक्षासम्म पढाई हुने विद्यालयमा अहिले ५१ जना विद्यार्थी नियमित विद्यालय आइरहेका छन् ।
प्रति विद्यार्थी दैनिक पन्ध्र रुपियाका दरले ४० प्राविका ३ हजार ५ सय ५० जना विद्यार्थीलाई व्यवस्था गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दा आफूलाई खुशी लागेको गाउँपालिका अध्यक्ष हुमागाईले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*