विपद्का बेला सामुदायिक वनमाथि निगरानी अझै बढाउँनुपर्छ : अध्यक्ष, भारती पाठक

मकवानपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) का कारण नेपालका सामुदायिक वनमा गलत फाइदा उठाउँने कार्य हुनसक्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोपन) ले सचेतता अपनाएको छ ।
राज्य सङ्टक परेको बेलामा विचौलिया तथा तस्करले मौका उठाउनसक्ने भन्दै आम उपभोक्तालाई सचेत बनाउँने अभियानमा फेकोपन लागिपरेको अध्यक्ष भारती पाठकले जानकारी दिइन् । ‘ जबजब राज्यमा सङ्कट आइपर्छ । मौका पर्खेर बसेका तस्करलाई चोरी तस्करी गर्न सजिलो हुन्छ । ’ अध्यक्ष पाठकले भनिन्, ‘यस्तो बेलामा सामुदायिक वनका उपभोक्ता सचेत बन्नुपर्छ भन्नेमा हामीले आफ्नो भूमिका निर्वाह गरिरहेका छौं ।’
‘कोभिड १९’ का कारण देश लक डाउनका भएको अवस्थामा उपभोक्ताको आँखा छलेर वनबाट हुने तस्करी तथा वन डढेलोको सम्भावित जोखिमबाट बचाउँनका लागि यो बेला वन समूहले विशेष निगरानी बढाउनुपर्ने फेकोफनले जनाएको छ ।
लक डाउनका कारण हातमुख जोर्न समस्या परेका अति विपन्न सामुदायिक वनका उपभोक्तालाई खाद्यान्न लगायत आवश्यक सामग्री वितरण गर्ने कार्यमा पनि महासंघले समन्वय गरिरहेको अध्यक्ष पाठकले बताइन् । ‘सामुदायिक वनका अति विपन्न उपभोक्ता लक डाउनका कारण विहान–बेलुकाको छाक टार्न पनि नसक्ने अवस्थामा छन् । ’ अध्यक्ष पाठकले भनिन्, ‘ त्यस्ता उपभोक्तालाई सामुदायिक वन समूहमार्फत आवश्यक सहयोग गर्ने काममा समन्वय गरिएको छ ।’ पाठकका अनुसार दैनिक ज्यालादारीमा दैनिकी गुजार्दै आएका कन्चनपुर, काश्की, सुर्खेत, उदयपुर लगायतका वन समूहका उपभोक्तालाई खाद्यान्न, सेनिटाइजर, खानेपानी लगायत सहयोग गरिएको छ ।
विपदका बेलामा सामुदायिक वनमा हुन सक्ने विभिन्न जोखिमबारे फेकोफनका कार्य समितिबीच भिडियो कन्फ्रेसमा छलफल समेत भइरहेको छ । कोरोना भाइरसको माहामारीका कारण लक डाउनको अवधिमा नेपालमा सामुदायिक वन संरक्षण तथा त्यसका उपभोक्ताका अधिकारबारे छलफल गरिएको हो ।
कोरोना माहामारीका बेलामा राज्यले घोषणा गरेको राहत कोषमा आवश्यक सहयोगका अलावा सामुदायिक वनका उपभोक्ताका लागि आवश्यक राहतका कार्यक्रमबारे आफूहरु छलफल गरिरहेको अध्यक्ष पाठकले जानकारी दिइन् ।
नेपालमा २२ हजार २ सय ६६ वटा सामुदायिक वन समूह रहेका छन् ।