सलह भित्रिएपछि मकवानपुरका किसान चिन्तत

मकवानपुर । शनिबार नेपाल भित्रिएको सलह किरा मकवानपुरका विभिन्न ठाउँमा देखा परेको पाइएको छ ।
मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानपुरगढी, बागमती गाउँपालिकामा शनिबार दिउशो सलहको झुण्ड देखा परेको हो ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि सलह देखिएको स्थानीयले बताएका छन् । सलह किराको झुण्ड देखापरेपछि यसको समाधान तथा आवश्यक निर्णय लिनका लागि आइतबार (आज) बागमती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सरोकारवालासंग बैठक बोलाएका छन् ।
दिउशो बैठक बसेर सलह किरालाई नियन्त्रण गरिने बताउँदै मन्त्री लामाले किसानहरुलाई यो समस्यासंग नआत्तिन आग्रह गरेका छन् । कृषि क्षेत्रमा यस्ता समस्या बेलाबेला आउने भन्दै उनले सलह पनि एउटा समस्याका रुपमा देखा परेको भन्दै नआत्तिन आग्रह गरे । कृषकको दुःखमा सरकार साथमा रहेकाले सरकारले बजेट तथा सलह नियन्त्रणका लागि आवश्यक कार्य गर्ने जानकारी दिए ।
सलह समस्या देखा परेका विभिन्न ठाउँमा समाधानका लागि स्थानीय जुट्न थालेका छन् । मकवानपुरगढी गाउँपालिकाको सुकौरामा देखा परेको सलह किरा धपाउन स्थानीय लागिपरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए । सलह धपाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको उनले जानकारी दिए ।
बकैया गाउँपालिकाको विभिन्न वडामा सलह देखा परेपछि स्थानीयले जन प्रतिनिधीलाई खबर गरेका थिए । गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बकैयाका विभिन्न वडामा सलह देखा परेको भन्दै आफूलाई जनप्रतिनिधीबाट खबर आएको बताइन् । बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले सलह देखा परेको बताउँदै आधिकारिक निकायबाट औपचारिक रुपमा सलह नै हो भनेर कृषकलाई जानकारी गराउँन भने बाँकी रहेको बताए ।
बकैयाको १, २, ४ र ५, १० नम्बर वडामा सलह देखा परेको स्थानीयहरुले जनाएका छन् । सलह बागमती गाउँपालिकाका विभिन्न वडामा पनि देखा परेको स्थानीयको भनाई छ ।
हेटौंडाको वडा नं १८ पनि सलह देखिएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् । सो वडाका अध्यक्ष अनिल बानियाले भने अहिलेसम्म वडामा सलह नै प्रवेश गरेको भनेर थाहा नभएको बताएका छन् । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा हेटौंडामा पनि सलह देखा परेको बताएपनि यसबारेमा आफूले आधिकारिक निकायबाट बुझ्न बाँकी रहेको बताए ।
नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेको किसानहरुले बताएका छन् । फट्याङ्ग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।
सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा शनिबार विहान देखा परेको सलह पहाडका विभिन्न ठाउँ हुँदै मकवानपुर प्रवेश गरेको हो ।
केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलह नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले सलह नेपाल प्रवेश गर्दैन भने पनि सलहको प्रवेशले किसान चिन्तित बनेका छन् ।