चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शुभारम्भ

३९ करोडमा ‘सिनेपा’ निर्माण हुने
लोकखबर
१ जेष्ठ २०८२, बुधबार १९:१०

विदुर–अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्माओलीले काभ्रेको बनेपा नगरपालिकामा निर्माण हुने ‘सिनेपा’ नामको चलचित्र छायाङ्कन स्टुुडियोको आरम्भ उद्घोष (शिलान्यास) गरेका हुन् ।
कुल ४२ रोपनी क्षेत्रफलको जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधा सम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् ।

देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकोमा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।
प्रधानमन्त्री ओलीले बनेपामा निर्माण हुन लागेको फिल्मको इन्डोर छायांंकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले ‘सिनेपाः’ स्टुडियो आरम्भ भएको घोषणा गरे ।
स्टुडियोको निर्माणमा सरकारले पूर्णरुपमा सघाउने बताउँदै प्रधानमन्त्रीले नेपाली सिने क्षेत्रको युग परिवर्तनको रुपमा अहिलेको समयलाई लिन मिल्ने बताए । ‘आजको दिन सिने क्षेत्रको युग परिवर्तनको दिन हो’ उनले अगाडि भने ।
उनले सिनेमासहित डबिङ र गायन स्टुडियोलाई समेत समावेश गर्न सुझाव दिए । बनेपा नगरपालिका अन्तर्गतको १० र १३ मा निर्माण हुन लागेको स्टुडियो प्राकृतिक हिसाबले रमणीय स्थानमा बन्न लागेको बताए ।
उनले पालुङटारमा हलिउड फिल्मको छायांकन गर्न मिल्ने ढंगले स्टुडियो निर्माणको लागि आफूले प्रस्ताव राखेको तर, कलाकारले नमानेको बताए । उनले यसअघि आफू प्रधानमन्त्री हुँदा दोलखामा फिल्म नगरी बनाउन र पालुङटारमा स्टुडियो बनाउन प्रस्ताव राखेको बताए ।
प्रधानमन्त्री ओलीले उक्त अवसरमा स्टुडियो निर्माण सुरु भएको घोषणा गर्दै शिलापत्र समेत अनावरण गरे । उनले ‘सिनेपाः’ आफैमा ब्रान्ड बन्न सुरु भएको बताए ।
प्रधानमन्त्रि ओलीले यति लामो पर्खाइपछि बल्ल नेपाली फिल्म क्षेत्रले स्टुडियो पाउन लागेको बताउँदै ओलीले विगतका सरकारले काम नगर्दा बल्लतल्ल काम अघि बढाएको बताए । कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो पर्खाइपछि नेपाली फिल्मले सुविधासम्पन्न स्टुडियो बनाउन लागेको बताउँदै सरकारले पूर्ण तरहले सघाउने बताए ।
उनले चलचित्र ऐन, मिडिया काउन्सिल विधेयक, सामाजिक संजाल विधेयक संसदमा पुगेको बताउँदै पंचायती कानूनमा चलेका कानूनलाई समयसापेक्ष सुधार गर्न लागिपरेको बताए । पूर्वसंचारमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बासकोटाले स्टुडियो निर्माणको लागि जग्गा उपलब्ध गराउन भूमिका खेल्ने स्थानीय जनप्रतिनिधिलाई बधाइ दिए ।
वरिष्ठ फिल्म निर्देशक नीर शाहले एआई र प्रविधि जडान गरेर स्टुडियोलाई बहुउद्देश्यीय बनाउन सुझाए । उनले २०२६ सालको चलचित्र ऐनले फिल्मलाई परिभाषित गर्न नसकेको र अहिलेको प्रस्तावित ऐनले पनि फिल्म क्षेत्रलाई परिभाषित गर्न चुकेको उनले बताए ।
बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादेले ‘सिनेपाः’ स्टुडियो बन्नु काभ्रेको लागि गर्व गर्न लायक भएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच राखेमा असम्भव कुरा पनि सम्भव हुने धारणा राखे ।
आगामी सातादेखि रियल टाइम बक्सअफिसको सुरुवात हुने डीसीले बताए । स्टुडियो, रियलटाइम बक्सअफिस र फिल्म ऐनका काम अघि बढेको बताउँदै उनले आफू सकारात्मक ढंगले अघि बढेको बताए । बनेपा नगरपालिकाको वडा १० र १३ को ४१ रोपनी जग्गामा अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण हुन लागेको हो ।
सन् २०२६ भित्र निर्माण पुरा हुने लक्ष्य राखिएको स्टुडियोको लागत बजेट ३९ करोड रुपैया छ । ठेक्का प्रक्रिया स्वीकृत गरेसँगै हाल निर्माण प्रक्रिया सुरु भएको छ भने यसवाट चलचित्र क्षेत्रका सवै पक्ष निकै खुसी भएका छन् ।