श्रेष्ठको २७ औं पुस्तक नियात्रा लोकार्पित

डा. शसांक कोइरालाले गरे लोकार्पण
लोकखबर
४ जेष्ठ २०८२, शनिबार १६:५९

विदुर–यात्रा संग्रह ‘यात्राको तस्बिर’ लोकार्पित भएको छ । नुवाकोटका लेखक श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ लोकार्पणसंगै सार्वजनिक भएको हो ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले शनिवार उक्त नियात्रा लोकार्पित गरेका हुन् । विदुर नपा ४ वट्टारका लेखक श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को डा. कोइरालाले लोकर्पण गर्दै साहित्यले मानव जीवनलाई सत्मार्गमा लैजाने वताए ।
लेखक श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शिर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ । ‘यात्राको तस्बिर’ श्रेष्ठको २७ औं प्रकाशित कृति हो ।
यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।
नुवाकोटको वट्टारमा गत २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विद्याका पुस्तकहरु प्रकाशित छन् । उनको नेतृत्वमा नुवाकोटमा राष्ट्रिय साहित्य महोत्सव तथा विविध साहित्यिक कार्यक्रमहरु भइसकेका छन् ।