एकै घरका १६ जना रहस्यमय रुपमा वेपत्ता !

– खोजी तथा अनुसन्धान जारी
लोकखबर
२०८२ श्रावण १२, सोमबार २०:३२

बिदुर–सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना रहस्यमय रुपमा वेपत्ता भएका छन् । उनीहरुको खोजी तथा अनुसन्धान भइरहेको छ ।
बेपत्ता घरमा सदस्यहरुको नामसमेत खुलेको छ । प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षिया घरमुलीसम्मका सदस्यहरु रहस्यमय रुपमा बेपत्ता भएका हुन् ।

वडाध्यक्ष रवीन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य बेपत्ता छन् । उनीहरुको घर भन्दा १५ मिनेटको दुरीमा अन्य घर रहेकाले ढिलो गरि जानकारी आएको प्रहरीले जनाएको छ ।
सीमान्तकृत समुदाय अन्र्तगत हायू परिवार सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएको केहि दिनमै परिवारका सवै सदस्य सम्पर्कविहीन भएको सिन्धुली प्रहरीले जनाएको छ । बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।

सिन्धुलीको गोलन्जोर गापामा एकै परिवारका १६ जना बेपत्ता भएको घटना निकै रहस्यमय वन्दै गइरहेको छ । उनीहरुको खोजीमा स्थानीयदेखि प्रहरी, प्रशासनसम्मले खोजी सुरु गरेका छन् ।
लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका हुन् । बेपत्ता घरमुली उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।

‘घटना हेर्दा शुक्रबार, शनिबारबाटै उनीहरु सम्पर्कबिहिन भएको देखिन्छ । उनीहरुको घर एकान्तमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाए । सोमबार बिहान जानकारी पाउनसाथ प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका हौं’ अध्यक्ष बरालले भने ।
पालिकाबाटे उक्त ठाउँमा कर्मचारी समेत पठाइएको बरालले बताए । छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार हराएको भन्ने सूचना आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरिक्षक लालध्वज सुवेदीले बताए ।

उनका अनुसार हायुको घरमा प्रहरी निरीक्षकसहितको टोली पठाइएको छ । घटनाबारे स्थानीय, वडा र पालिकासँग सोधपुछ गरेर खोजी सुरु गरि मसिनो रुपमा अनुसन्धान सुरु गरिएको छ ।
हायु जातिलाई सरकारले मासिक सामाजिक सुरक्षा भत्ता दिने भएकाले उक्त भत्ता लिएर कतै गएका हुन् कि भन्ने हिसाबले यसबारे पनि बुझ्ने काम भएको उनले बताए । उनले अगाडि भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको थियो ।

हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, कुकुर, अलपत्र अवस्थामा रहेको पाइएको छ । तर, हायुको परिवारका कोही सदस्य भन्े कोही पनि घरमा भेटिका छैनन् ।’

हराएको हायु परिवारका सदस्यहरुमा घरमुली ५२ वर्षिया उर्मिला हायु (आमा), उनकी छोरी २७ वर्षिया कमला हायु, वुहारी २३ वर्षिया कोमल माया हायु, छोरी, बर्ष २२ की उषा हायु, छोरी बर्ष १९ की सुजता हायु, छोरी बर्ष १८ की अस्मिता हायु, छोरी बर्ष १२ की शान्ता हायु, छोरा बर्ष २९ को राजु हायु, छोरा बर्ष २४ को हिमाल हायु, छोरा बर्ष १६ को लालबहादुर हायु, छोरा बर्ष १४ को बेगबहादुर हायु, छोरा बर्ष ११ को लक्की हायु, छोरा बर्ष १२ को सुवर्ण हायु, छोरी बर्ष १० की ओमकुमारी हायु, नाती बर्ष १ को अर्जुन हायु र नातिनी बर्ष ४ की रियासा हायु रहेकी छन् ।

गोलन्जोर ६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ । गत बिहीबार राती या शुक्रबार बिहान घर छाडेका उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको पुष्टि मोबाइल फोनको लोकेशनले गरेको हो । यद्यपि सोमबार भने उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार रेकर्डमा रहेका सबै फोन नम्बरमा सम्पर्क गर्दा स्विच अफ भनिरहेको छ । ‘वडा कार्यालयमा रेकर्ड राखिएका सबै नम्बरमा फोन गर्दा स्विच अफ भनिरहेको छ’, उनले भने, ‘हामीले प्रहरीसँगको समन्वयमा लोकेशन पत्ता लगाउँदा उनीहरू रामेछापको भूगोलमा पुगेको देखिएको छ ।’

स्थानीय उर्मिला हायुसहित उनको परिवारका १६ जना गायब भएको पुष्टि सोमबार बिहान भएको थियो । तर, हायु परिवारका सदस्य बिहीबार राती या शुक्रबार बिहानबाटै गायब भएको अनुमान जनप्रतिनिधिले गरेका छन् ।
गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगनराज थापाका अनुसार घर छाडेर गायब हुनेमा उर्मिला हायुसहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् । बिहीबार घरमा बंगुर काटिएकाले छोरीज्वाइँसमेत आएको खुलेको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार सुरूमा १६ जना हराएको खुले पनि अहिले १८ जना एकसाथ गायब भएको पाइएको छ । सोमबार बिहान जानकारी आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको जंगलबीचको घरमा पुग्दा कुकुर कराइरहेको थियो ।
भैंसी र बाख्रासहितका चौपाया बेवारिसे अवस्थामा भेटिएका थिए । आँगनमा बनाइएको भान्सा घरमा आगो लागेर जलेको थियो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार प्रहरीको सहयोगमा उनीहरूको मोबाइल फोन ट्रर्याकिङ गर्दा अन्तिम लोकेशन रामेछापमा देखाएको थियो । फोनको लोकेशन रामेछापमा देखाए पनि हायु परिवारसमेत त्यहीँ पुगे नपुगेको पुष्टि भएको छैन । अहिले फोन गर्दा कसैकोमा सम्पर्क नभएको श्रेष्ठले बताए ।


हायु संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुका अनुसार यो परिवारले बिहीबार मात्रै वडा कार्यालयबाट करिब एक लाख ९२ हजार रुपैयाँ भत्ता बुझेका थिए । उनीहरू लोपोन्मुख सूचीमा रहेकाले सरकारले उक्त सुविधा दिने गरेको छ ।


सर्वाधिक रुचाइएको