कलाकार संघद्वारा सम्मान
बिदुर–चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरू सम्मानित भएका छन् । चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई सम्मानसहित बधाई कायृक्रम गरेको हो ।

संघले चलचित्र विकास बोर्डका नवनियुक्त सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक कार्यक्रममार्फत सम्मान तथा वधाई प्रदान गरेको हो । संघले बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बीरेन्द्रप्रसाद भट्ट र गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मानित गरेको हो ।

कार्यक्रममा चलचित्रकी अभिनेत्री गीता अधिकारीलाईसमेत सम्मानित गरिएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, संघका बरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल, महासचिव सबिन श्रेष्ठलगायतले सम्मानित गरेका हुन् ।

कार्यक्रममा कलाकारसंग सम्वद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा अध्यक्ष निरौलाले संघले सकारात्मक रुपमा बोर्ड तथा समितिका पदाधिकारीहरूलाई सम्मान तथा बधाई गर्ने गरेको र यसवाट कलाकारहरूलाई अझै प्रेरणा, उत्साह र ऊर्जा प्रदान गर्ने वताए ।

उनले चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डिसीको नेतृत्व भएपछि चलचित्रको विकास, उत्थान र प्रवद्र्धनमा उल्लेखनीय कामहरू भएको वताए । अध्यक्ष निरौलाले चलचित्र विकास बोर्डले २०२६ सालको ऐनलाई विस्थापित गरी नयाँ ऐन निर्माणका लागी गरेको पहल कदमीको योगदान बर्तमान नेतृत्वलाई जानुका साथै नेपाली चलचित्र क्षेत्र र चलचित्रका पेशाकर्मीको उत्थानका लागि बोर्ड सधै क्रियाशिल रहने आशा एवं बिश्वास व्यक्त गरे ।

सम्मान कार्यक्रममा प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, चलचित्र निर्देशक माधबराज खरेललगायतका चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कलाकार संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्र विकास बोर्डको बर्तमान नेतृत्वको काम विशेष महत्वको रहेको वताए ।

उनले बोर्डले चलचित्रकर्मी तथा नेपाली चलचित्र उद्योगको लागी विशेष काम गर्नुपर्ने बताए । सम्मानित व्यक्तित्वहरुको तर्फवाट चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी र चलचित्र जाँचपास समितिको तर्फवाट सदस्य सम्पन्न श्रेष्ठले नेपाली चलचित्र क्षेत्रको विकास तथा नेपाली कलाकारहरुको उत्थानका लागि आफुहरुले सक्रियता देखाएर कार्य गर्ने प्रतिवद्धता जनाए ।














































