ट्राफिक सप्ताहमा विविध कार्यक्रम
बिदुर – नुवाकोटमा विविध कार्यक्रमसहित ‘ट्राफिक सप्ताह २०८३’ सन्चालन भइरहेको छ । विशेष गरि स्वास्थ्य तथा ट्राफिक नियम सचेतनाका कार्यक्रमलाई प्रमुखता दिने कार्य भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सन्चालन गरेको ट्राफिक सप्ताह अन्र्तगत लागू पदार्थ सेवन (लापसे) परिक्षण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्ष्यित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ ।

तादी गाउँपालिका–३ खरानीटारस्थित इलाका प्रहरी कार्यालय खरानीटारको कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरूप कार्यक्रममा १५ जनाको परीक्षण गर्दा दुई जनाले लागू औषध प्रयोग गरेको पाइएको छ । कार्यक्रममा तादी आधारभूत अस्पताल खरानीटार, इलाका प्रहरी कार्यालय खरानीटार र स्थानीय निकायको समन्वयमा स्वास्थ्यकर्मी टोलीद्वारा काठमाडौँ–दुप्चेश्वर सडकखण्डमा सञ्चालन भइरहेका विभिन्न सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको थियो । तादी आधारभूत अस्पतालका डा. शिवानी रायमाझीसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परिक्षण गरेको हो ।
लापसे पोजेटिभ देखिएका चालकहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ । ट्राफिक प्रहरीले यस्ता अभियानले सडक सुरक्षामा सुधार ल्याउने र मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा गरेको जनाएको छ । यसका साथै ‘ट्राफिक सप्ताह‘ अन्र्तगत नुवाकोट एम्बुलेन्स चालक संघमा आवद्ध १५ थान एम्बुलेन्स त्रिशूली अस्पतालको परिसरको पार्किङमा रहेका एम्बुलेन्सको यान्त्रिक चेकजाँच गरिएको छ ।

यान्त्रिक कार्यालय नुवाकोटका प्राविधिकहरु यान्त्रिक मर्मतमा खटिएका थिए । परिक्षण गरिएको १५ थान एम्वुलेन्सहरूको कन्टिसन दुरुस्त रहेता पनि एम्बुलेन्सको समयमा सर्भिसिङ हुदाँ पार्टसको अवस्था बारे जानकारी गराइएको थियो । ट्राफिक सप्ताह कार्यक्रम अन्र्तगत नुवाकोटका बिभिन्न स्थानहरुको बिद्यालयमा चालक, विद्यार्थी, सडक, चालक पैदल यात्रीलाई सडक सुरक्षा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिनुका साथै पर्चा ट्राफिक नियम लेखिएको पम्प्लेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए ।
ट्राफिक सप्ताह अन्तर्गत जिल्लाका एम्बुलेन्सहरूको प्राविधिक अवस्था जाँच तथा चालकहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आकस्मिक सेवामा गुड्ने एम्बुलेन्सहरूको यान्त्रिक र प्राविधिक पक्षको सुक्ष्म निरीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिए ।

त्रिशूली अस्पतालको प्राङ्गणमा रहेको एम्वुलेन्सहरुमा गरिएको यन्त्र जाँचसँगै एम्बुलेन्स चालकहरूसँग सडक सुरक्षा, ट्राफिक नियम पालना र कार्यक्षेत्रका चुनौतीबारे अन्र्तक्रियासमेत गरिएको छ । एम्बुलेन्स सेवालाई सुरक्षित र भरपर्दो बनाउन उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।











































