बाढीले वगाएको विद्यालय कोलोनीमा
बिदुर – भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको ऐतिहासिक विद्यालय वगाएपछि वैकल्पिक वयवस्था गरिएको छ । त्रिशूलीवजारमा रहेको त्रिभुवन त्रिशूली मावि भवनसहित वढारेपछि सरकारले नयां विकल्प ल्याएको हो । बिदुर नगरपालिका १ स्थित त्रिशूलीवजारमा रहेको विद्यालय भवन वगाएपछि उक्त विद्यालयका लागि वैकल्पिक व्यवस्था गरिएको हो ।

दुई किलोमिटर पश्चिमतर्फ माथि रहेको बिदुर नपा ९ कोलोनीस्थित शहरी विकास तथा भवन निर्माण कार्यालय र जिल्ला खेलकुद विकास समितिको खाली जग्गा तथा भवन उक्त विद्यालयले उपभोग गर्न पाउने गरि विद्यालय कायम गरिएको छ । विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको उक्त विद्यालय पुनः सञ्चालनका लागि विदुर नगरपालिकाले उक्त स्थान उपलब्ध गराउने निर्णय गरेको हो । यहि भदौ १० गते आएको बाढीले विदुर नपा १ मा सञ्चालित उक्त विद्यालयको भवन तथा उपभोग गरिरहेको जग्गा जमिन पूर्ण नष्ट गरेको थियो ।

साविकको स्थानमा विद्यालय पुनः सञ्चालन गर्न सम्भव नरहेकाले विद्यार्थीहरूको नियमित पठनपाठन सुचारु गर्न नगरपालिकाले वैकल्पिक स्थान प्रयोगको अनुमति दिएको हो । निर्णयअनुसार विदुर नपा ९ स्थित कोलोनीबजारमा रहेको सहरी विकास तथा भवन कार्यालयको जग्गासहितको भवन र जिल्ला खेलकुद विकास समिति नुवाकोटको जग्गा तथा भवन प्रयोग गरी अस्थायी सिकायी केन्द्र÷विद्यालय निर्माण गरिनेछ ।

विदुर नपाका मेयर राजन श्रेष्ठले विद्यालयलाई पत्राचार गर्दै सो स्थान प्रयोग गरी अस्थायी पठनपाठन सञ्चालन गर्न अनुमति प्रदान गरेको उल्लेख छ । १२ कक्षासम्म पठनपाठन हुदै आएको उक्त विद्यालय बाढीले वगाउंदा एक जना कार्यालय सहयोगी तथा खाना वनाउन कोठामा गएका वेला एक जना शिक्षक वेपत्ता भएका छन् ।











































