विमान दुर्घटनाबाट बाँच्न युवक सफल

‘ब्युँझिँदा वरिपरि लाशहरू मात्रै थिए’
लोकखबर
२०८२ जेष्ठ २९, बिहीबार २२:४३

विदुर– भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन् । उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
उनी वेलायती नागरिक हुन् । विमान दुर्घटनापछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थि ए। त्यसैक्रममा ४० वर्षीय रमेशकुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए । उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बेलायती नागरिक रमेशले आफन्तलाई भेट्न भारत आएको बताए । भारत बसाइका क्रममा दाजु अजयसँग विभिन्न स्थानमा घुमघाम गरेको उनको भनाइ छ । एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी सवार रहेका थिए ।
आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको उनले वताए । रमेशले विमान उडेको ३० सेकेन्डमै पड्किएको जस्तो आवाज आएको बताए । ’विमान उडेको झण्डै ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि दुर्घटना भयो,’ उनले भनेका छन् । सबै कुरा यति छिटो भयो केही सोच्नै नसकेको उनको भनाइ छ ।
दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लाशहरू देखेको बताए । ’जब म होसमा आएँ, मेरो वरिपरि लाशहरू थिए, म डराएँ।, उठेर दौडिएँ, चारैतिर विमानका टुक्रा–टुक्रा छरपष्ट फैलिएका थिए । मलाई कसैले समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए,’ उनले भने ।
रमेश विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन् । उनकी पत्नी र बच्चाहरू पनि लन्डनमै बस्छन् । उनले आफ्ना दाजु अजयलाई खोजिदिन अपील पनि गरे । जहाजमा दाजु र आफू फरक फरक ठाउँमा बसेको उनको भनाइ छ ।

बिहीबार १ः३९ बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको ७८७ विमान केही क्षणमै दुर्घटनामा परेको थियो। उक्त विमान डाक्टरहरू बस्ने होस्टलमा खसेको थियो । विमानमा क्रुसहित २४२ जना सवार थिए ।
जसमध्ये १६९ जना भारतीय नागरिक र ६१ जना विदेशी नागरिक थिए । विदेशीमध्ये पनि ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानाडाका नागरिक थिए ।
२०४ जना पुग्यो मृतकको संख्या
एयर इण्डियाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ । अहमदाबादका प्रहरी अधिकारी जीएस मलिकले २०४ जनाको शव फेला परेको पुष्टि गरे ।
उनले दुर्घटनाबाट कोही बाँचेको पनि हुनसक्ने बताए । अस्पतालमा भने ४१ जनाको उपचार भइरहेको उनको भनाइ छ ।
नेपाली नागरिक छैनन्
लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ । विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।
दूतावासका कन्सुलर सन्जिव शर्माले भने, ‘त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।

सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै मानव वस्तीमा झरेर दुर्घटनाग्रस्त भएको थियो । (एजेन्सीहरुको सहयोगमा)


सर्वाधिक रुचाइएको