‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ । नारी शिप सिर्जना केन्द्र नामक गैर सरकारी संस्थाको युवा परिचालक भएर गाउँमा मानव बेचविखन विरुद्दको अभियानमा काम गरेको उनीसंग अनुभव छ । अहिले २३ वर्षकी अनुले वि.सं.२०७१ सालमा स्थानीय जनता माविबाट एसएलसी गरेकी हुन् । हाल उनी सोही विद्यालयमा प्लस टु अध्ययनरत छिन् । गीत संगीत तथा कलाकारितामा रुची राख्ने उनले गरेको अभिनयको सडक नाटक मकवानपुरको हेटौंडा,फापरबारी, हात्तिसुढे, मनहरी, हाडीखोला, पदमपोखरी लगायत ठाउँमा प्रदर्शन भएको छ । हाल हेटौंडा स्थित एक इस्टिच्युटमा कोरियन भाषा सिक्दै गरेकी अनुसंग हामीले हिड्दा हिड्दै उनका जीवन भोगाईबारे केही प्रश्न सोधेका छौं ।
१. तपाईको नाम अनु, नामको अर्थ चाँही के हो नि ?
ओ हो, मलाई त नामको अर्थ नै थाहा भएन । सरि है ।
२. आजभोली के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि कोरियन भाषा सिकिरहेको छु । यसमै व्यस्त बनिरहेको छु ।
३. जीवनको लक्ष्य के लिनुभएको छ ?
सबैभन्दा पहिला त मलाई जन्म दिने बाबा, आमालाई अहिलेको दुःखको घेराबाट बाहिर निकाल्न चाहान्छु । त्यसपछि मेरो जीवनको लक्ष्यका विषयमा सोच्नुपर्ला ।
४. जीवनमा सबैभन्दा खुशी र दुःखको क्षण सम्झिनुपर्दा कुन-कुन सम्झिनु हुन्छ ?
सबैभन्दा दुःखको कुरा सम्झिनुपर्दा चाँही म २०७२ साल वैशाख १२ गते गएको भूकम्पलाई सम्झिन्छु । जुन दिन भएको एउटा सानो हाम्रो घर पनि आँखा अगाडी नै सबै भत्कियो । आफ्नो बस्ने ठाउँ नभएर अरुको घरमा सहारा लिएर बस्नुपर्यो । अरुको घर जति नै राम्रो ठूलो भएपनि आफ्नो जस्तो कहाँ हुन्थ्यो र ? एक महिना त्यतिकै अरुकोमा बस्यौं, त्यो दिन साह्रै नरमाइलो लाग्छ । सुखका दिन सम्झनुपर्दा चाँही पछि फेरी आफैंले सानो घर बनायौं । सबै जना त्यही घरमा बस्यौं । सानै भएपनि आफ्नै घरमा बस्न पायौं । यही दिन सबैभन्दा खुशीको दिन हो जस्तो लाग्छ जीवनमा अहिलेसम्म ।
५. भविष्यको जीवनसाथीका विषयमा के सोच्नुभएको छ ? कस्तो जीवनसाथी होस् भन्ने चाहाना छ ?
अहिले जे जति दु :ख, पीडा भोगिरहेकी छु । त्यस्ता दुःख पीडा आगामी दिनमा भोग्नु नपरे हुन्थ्यो भन्ने लाग्छ । भविष्यको जीवनसाथी मेरो हरेक सुख, दुःखमा साथ दिने होस् । मेरो भावनाको कदर गर्ने होस् । सबैलाई आदर सत्कार गर्ने होस् । कुन चाँही केटीले आफ्नै जीवनसाथी नराम्रो परोस् भन्ठान्छ र म पनि असल जीवनसाथी होस् भन्ने चाहान्छु । धेरै दिदि बहिनीले जीवनसाथीकै कारणले जीवनमा दुःख पनि पाएका छन् । तर म भविष्यको जीवनसाथी असल होस् भन्ने चाहान्छु ।
६. लभ भनेको के हो जस्तो लाग्छ ?
खोइ, बुझ्नेलाई यही लभ अमृत हुन्छ । नबुझ्नेलाई यही लभ विष हुन्छ । म के भनुँ ?
७. कसैसंग लभमा हुनुहुन्छ ?
मलाई लभप्रति खासै रुची छैन । यसलाई कति मान्छेले टाइम पासका रुपमा लिने गरेका छन् ।
८. सबैभन्दा बढी माया चाँही कसको लाग्छ ?
सबैभन्दा बढी माया बाबा आमाको लाग्छ , किनकी बाबा आमाले जन्म नदिनु भएको भए अहिले म यी प्रश्नको जवाफ दिन कहाँ पाउँथे र ? उहाँहरुले जन्म दिनुभयो, कर्म दिनु भयो । बाबाआमाकै साथ र हौसला पाएर आज यहाँसम्म आइपुगेको छु । आमा बाबाको बयान गरेर त कहिल्यै सकिन्न ।
९. विवाह कहिले गर्ने सोच छ ?
विवाह भन्ने कुरा लाइफमा एक पटक मात्र गरिन्छ । हतारमा विवाह गरेर पछुताउनु मात्र हो । सबैले एक दिन आफ्नो जन्म घर छाडेर त जानै पर्छ । तर आफू आफैंमा सक्षम पनि हुनुपर्यो । पहिले आफ्नो भविष्य बनाउँने हो अनि विवाह गर्ने हो, ताकि भोलि कसैले हेप्न नसकोस् । अरुको भरमा होइन, अरुलाई चाँही पाल्न सक्ने हुनुपर्छ भन्ने मलाई लाग्छ । यसर्थ, मेरो भविष्य बनोस्, आत्म निर्भर भइयोस् अनि विवाह गर्ने सोच छ ।
१०. तपाई विभिन्न गीत-संगीत, नाटकमा समेत रुची राख्नु हुन्छ । यो क्षेत्रमा रुची चाँही कसरी जागृत भयो ।
मलाई कलाकारिता क्षेत्र एक दम मनपर्छ । कहिलकाहीं गीत गाउँने पनि गर्छु, अनि नाटकहरुमा पनि अभिनय गर्छु । गीत गाउँने इच्छा चाँही सानै देखिको हो । स्कुल पढ्दा कक्षामा खुब गीत गाइन्थ्यो । त्यो सानो बेलामा गीत संगीतमै लागेर भविष्य बनाइन्छ भन्ने लाग्थ्यो । तर, सोचे जस्तो कहाँ हुदो रहेछ र जीवनमा ।