‘राजनीतिमा लाग्न मन छ ! ’

लोकखबर
६ माघ २०७५, आईतवार २२:२२

हेटौंडा २, वनस्खण्डी निवासी सविना तिमल्सिना मकवानपुर बहुमुखी क्याम्पसमा वी.ए. दोस्रो वर्ष अध्ययनरत छिन् । २३ वर्षिया सविनाले भुटनदेवी उच्चमाविबाट २०६९ सालमा एसएलसी उर्तीण गरेकी हुन् । आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययन गरेकी उनीसंग सञ्चारमाध्यमको कार्य अनुभव पनि छ । रेडियो मकवानपुरमा दुई महिना प्रशिक्षार्थी, रेडियो निकासमा ६ महिना समाचार वाचनको अनुभव सङ्गालेकी यिनीसंग हामीले व्यक्तिगत जीवन भोगाई, धारणाबारे छोटो कुराकानी गरेका छौं ।
तपाईंको नाम सविना, नामको अर्थ चाँही के हो नि ?
नामको अर्थभन्दा जीवनमा कामको अर्थ महत्वपूर्ण हुन्छ । मैले नामको अर्थबारेमा खासै चासो राखिन । मलाई लाग्छ, सविनाको अर्थ विनम्र, सादर भन्ने हो कि ।
आजभोली चाहीँ तपाईं के मा व्यस्त हुनुहुन्छ त ?
मकवानपुर बहुमुखी क्याम्पसमा वी.ए.दोस्रो वर्षमा अध्ययनरत छु । समाजशास्त्र र ऐच्छिक अङ्ग्रेजी मेरो विषय हो । आजभोली यही हो परीक्षाको तयारीमै व्यस्त छु भन्नुपर्यो ।
तपाईले आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययन गर्नुभयो, छोटो समय भएपनि मिडियाको अनुभव लिनुभयो । भविष्यमा चाँही के बन्ने सोच छ नि ?
अध्ययन जे विषयमा गरिन्छ जीवनलाई त्यस्तै क्षेत्रमा अगाडी बढाइन्छ भन्ने सबैलाई सम्भव हुन्न । मलाई यही बन्छु यसै गर्छु भनेर अहिलेसम्म त्यस्तो केही पनि लागेको छैन । तर म जे बन्छु राम्रो बन्छु, समाजका लागि केही योगदान दिने व्यक्ति बन्छु भन्ने लाग्छ । मलाई त राजनितीमा लागौं कि भन्ने पनि लाग्छ ।

राजनीतिलाई युवापुस्ताले त्यति रुचाउँदैन, तपाईंको चाँही किन रुची ?
राजनिती भनेको देश अगाडी बढाउने मूल नीति हो । अवसर पाएमा राजनीतिमा पनि भूमिका खेल्छु भन्न खोजेको हुँ । फेरी हामी युवापुस्ताले नै त हो विकृत चिजलाई सपार्ने भनेको । नेपालको राजनीतिलाई फोहोरी खेल भनिन्छ । राजनीतिमा लागेका मान्छे राम्रो होइनन् भन्ने धारणा हामी बनाईहाल्छौं तर त्यस्तो होइन राजनीतिलाई सफा पार्ने मान्छे नभएर हो । नेपालमा पनि अब विस्तारै असल राजनीति गर्नेहरु आउँदैछन् ।
अलिकति जीवनको कुरा गरौं न, जीवन भनेको के हो जस्तो लाग्छ नि तपाईंलाई अहिलेसम्मको भोगाईको आधारमा भन्नुपर्दा ?
जीवनमा त्यति लामो अनुभूति त कहाँ गरिएको छ र ? भर्खरै टिनएजमाथि छु । तर पनि जीवनका साना साना क्षणहरु केलायर हेर्ने हो भने जीवन भनेको वास्तवमा सुख, दुःखको एउटा सृङ्खला नै हो । जीवनमा कहिले सुख त कहिले दुःख हुन्छ ।  वास्तवमा भन्ने हो भने जीवन एक प्रकारको सङ्घर्ष नै हो । जीवनमा धेरै आरोह–अवरोह आउँछ । विभिन्न चरणमा अनेकौं सङ्घर्ष गरिरहनुपर्छ ।
व्यक्तिगत कुुरा सोध्छु है, तपाईं रुनु भएको छ कि छैन नि ?
रोएको छु नि । ममी लेबनान् जाँदा त रोएकी थिए ।
मायाँप्रेमका पनि कुरा जोडौं न । लभ भनेको के हो जस्तो लाग्छ ?
लभ भनेको यस्तो चिज हो, जसको भरमा संसार चलेको छ । जीवन जगतमा लभकै कारण हामी रहेका छौं । के बुझ्ने लभलाई अथाह अर्थ राख्छ जस्तो लाग्छ यो वर्डले । कस्ता कस्ता लभगुरुले त यसको परिभाषा गर्न सकिन्न भन्छन् मैले कसरी अर्थ लगाउँ लभका बारेमा ?
अनि तपाईंले चाँही लभ गर्नुभएको छ ?
छ नि किन नगर्नु, मैले मेरो आफ्नो मान्छेलाई लभ गरेको छु ।
विवाह चाँही कहिले गर्ने सोच छ नि ?
अब एक वर्षभित्र विवाह गर्ने विचारमा छु ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
लोकखबरले मलाई मेरो जीवन भोगाईको अनुभव छोटो भएपनि बाँड्ने मौका दियो । आफ्ना मनका कुराहरु राख्न पाउँदा खुसी लाग्यो लोकखबर परिवारलाई धन्यवाद भन्न चाहान्छु ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*