प्रकाशकीय : लोकतन्त्रमा ‘लोकखबर’को भूमिका
नेपालको इतिहासमा माघ १६ गतेलाई विशेष दिनका रुपमा महत्वका साथ लिइन्छ । देश र जनताका लागि आफ्नो प्राणको आहुती दिएका वीर सहिदको सम्झना यो दिन गर्ने गरिन्छ । अर्थात् माघ १६ गते सहिद दिवस । ऐतिहासिक दिनमा ‘लोकखबर डटकम’ अनलाइन पत्रिका सुभारम्भ गरिएको छ ।
मल्टि मिडियाको भीडमा लोकमा सबै प्रकारका सूचना तथा विचारलाई प्रवाह गर्ने अभिष्टका साथ हाम्रो यात्रा आरम्भ भएको हो । एक्काइसौं शताब्दीमा प्रविधिको विकासले पलभरको खबर विश्वभर पुर्याउन सहज भएको छ । पत्रकारिताले सूचना प्रविधिको विकासलाई पछ्याउनुपर्दछ भन्ने हाम्रो मान्यता पनि छ । यसैले लोकखबरको पाइला पनि लोकमा सूचना तथा विचार सम्प्रेषण गर्न अघि सारिएको हो ।
भीडमा सङ्ख्यात्मक रुपमा थपिनु हाम्रो चाहाना होइन, हुने छैन । लोकमा नागरिकको आस्था, चाहना बमोजिम पत्रकारितामार्फत भूमिका निर्वाह गर्नु हामीले धर्म ठानेका छौं । लोकप्रति प्रतिबद्द रही जिम्मेवार पत्रकारिता गर्न हाम्रो यात्रा थालनी भएको हो । आजको ऐतिहासिक दिनमा थालनी भएको हाम्रो ऐतिहासिक यात्राले लोक विकासका लागि थप टेवा पुर्याउने हाम्रो सोच छ ।
मुलुकको स्वतन्त्रता र रक्षाका लागि जीवन अर्पण गर्ने शहिदप्रति सम्मान व्यक्त गर्दै सहिद दिवसका दिनबाट हामी आएको छौं । मुलुकमा लामो समयको त्याग तपस्याबाट प्राप्त अहिले हामील लोकतन्त्र पाएका छौं । हामीले जीवन बिताइरहेको आजको दिन प्राप्तीका लागि धेरैले आफ्नो जीवन उत्सर्ग गरेका छन् । विभिन्न कालखण्डमा मुलुकमा भएका परिवर्तनकारी आन्दोलनको बलबाट आज हामीले लोकतन्त्र पाएका हौं । यो उपलब्धि रक्षाका लागि पत्रकारिताबाट निर्वाह गर्नुपर्ने भूमिका, खबरदारीमा हामी सदैव लागिपर्नेछौं ।
मध्यस्थता मिडिया प्रालिको प्रकाशन ‘लोकखबर डटकम’ कुनै पक्ष–विपक्षमा नलागी सदैव निष्पक्षताको यात्रामा लम्किने छ । लोकमा खबर हुन नसकेका विषय ‘लोकखबर’ मा खबरका रुपमा लोकबासीले पाउन् भन्ने हाम्रो सोच हो । समाचारमा स्कुप मार्ने अर्थात् ब्रेकिङ् न्यूज दिने हतारमा हामी गलत खबर नागरिकमा नजाओस् भन्नेमा पनि हामी सचेत बन्नुछ । लोकतन्त्रमा ‘लोकखबर’ को यो यात्रामा कसरी अघि बढ्नुपर्ला ? तपाई सबै लोकबासीबाट सल्लाह, सुझाव एवम् प्रतिकृयाको अपेक्षा राखेका छौं । धन्यवाद ।