‘माया गरेर ‘मनु’ भन्छन्’

लोकखबर
१६ माघ २०७५, बुधबार १७:५३

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, छतिवनमा जन्मिएकी मन्दिरा आचार्यले स्थानीय बुद्द माविबाट वि.सं.२०६४ मा एसएलसी (एसइई) गरेकी हुन् । वंशगोपाल उमावि, हेटौंडा ६, चौघडाबाट प्लस टु गरेकी उनले शिक्षा संकायमा व्याचलर गरेकी छिन् । हाल जितपुरस्थित मिर्मिरे फाइनान्समा शाखा प्रबन्धकका रुपमा कार्यरत छिन् । यही फाइनान्सको बकैया हात्तिसुडेस्थित शाखा कार्यालयमा ट्रेनी एसिसटेन्टका रुपमा कार्य सुरु गरेकी उनीसंग विद्यालयमा अध्यापन गरेको अनुभव पनि छ । हात्तिसुडे अनि राइगाउँस्थित बोर्डिङ्मा शिक्षण गरेको अनुभव उनीसंग छ । बारा निजगढ घर भएकी मन्दिरासंग लोक खबरको अन्तरंग कुराकानी ।

१. तपाईंको नाम मन्दिरा । नामको अर्थ चाँही के होला ?

– यसको अर्थ भगवानको पालामा देवताको नाम थियो भन्ने मात्र सुनेको छु । एकीन अर्थ चाँही थाहा भएन । तर मेरो बाबाआमाले राखिदिनुभएर होला यो नाम मलाई असाध्यै प्यारो लाग्छ ।

२. भनेपछि आफ्नो नाम धेरै नै मनपर्छ ?

– एकदम मनपर्छ । भगवानको पालादेखि चलि आएको नाम हो नि त । बाबाआमालाई धन्यवाद भन्न चाहान्छु मेरो नाम मन्दिरा राखिदिनुभएकोमा ।

३.साथीहरुले बोलाउने नाम पनि मन्दिरा नै हो कि अरु पनि छ ?

– सबैले मन्दिरा नै भन्नु हुन्छ कोही कोहीले मनु पनि भन्नुहुन्छ ।

४. मनु भनेर चाँही माया गरेर भनेका हुन् ?

– हजुर, मायाले बोलाउँदा ‘मनु’ भन्छन् । तर मन्दिरा पनि मायाले नै बोलाउँछन् ।

५. आजभोलीको व्यस्तता कस्तो छ ?

– यही त हो नि सानो जब छ । यसैमा व्यस्त हुन्छु ।

६. कस्तो सानो जब ? भन्न नहुने जब हो र ?

– माइक्रो फाइनान्स बैंकमा काम गर्छु ।

७. आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

– सन्तुष्ट नै छु । लघुवित्त बैंकको काम यस्तो हो, जुन ग्रामीण महिलाहरुका लागि आर्थिक विपन्नता हटाई आत्म निर्भर बनाउनमा ठूलो भूमिका निर्वाह गर्दै आएको संस्था हो । त्यसैले महिलाहरुको सेवामा लिन बिताउन पाइने भएर पनि होला एकदम आत्म सन्तुष्टि मिलेको छ ।
८. जीवनमा यही क्षेत्रमा अघि बढ्ने सोच छ की अरु केही छ ?

– भविष्यको बारेमा खासै योजना बनाएकी त छैन । जति समयसम्म आफ्नो स्वास्थ्य, परिवेश अनि सबैको सहयोग र साथ मिल्छ । त्यतिबेलासम्म यो पेशा छाड्ने छैन ।

९. स्कूल जीवनमा हुदै गर्दा, झोलाभरी किताब बोकेर हिड्दै गर्दा के बन्छु भन्ने लाग्थ्यो ?

– त्यो सपना त पूरा गर्न सकिन जून सपना विद्यालय जाँदै गर्दा झोलाभरि किताब बोकेर हिड्दै गर्दा देखेको थिए –नर्स । समाजसेवी बन्ने सपना थियो त्यो बेलाको । अहिले पनि कुनै न कुनै रुपमा समाजसेवामै छु भन्दा फरक नपर्ला ।

१०. अनि सानो छँदा अर्थात स्कूले जीवनको सोचाई र अहिले आफूले गर्नुपरेको काम फरक हुँदा चाँही कस्तो लागिरहेको छ ?

– खुशी लाग्छ । जताबाट भएपनि समाजसेवामै छु जस्तो लाग्छ ।

११. जीवन भोगाईका सुख, दुःखका अविष्मरणीय क्षणको कुरा गरौं न । हालसम्मको जीवन भोगाईमा सबैभन्दा खुशी अनि सबैभन्दा दुःखी भएको क्षण कुन हो ?

– खुशी अनि दुःखका पलहरु धेरै छन् । सानो छँदा पहिलो पटक दिदीसंग काठमाडौं घुम्न जाने मौका मिलेको समय खुशीको क्षण हो भने दिदीको विहेमा रोएको पल मलाई सधैं याद आइरहन्छ ।

– गाउँमा बसोबास गर्दै आएको काठमाडौं नाम मात्र सुनेको थिए । घुम्न कहिले पाइएला भन्ने सोचेर बसेको ठाउँमा अवसर मिलेर होला धेरै खुशी भएकी थिए । दुःखी हुनुको कारण चाँही हरेक कुरा सुख, दुःख बाँड्ने साथीको रुपमा दिदीलाई लिएकी थिए । अब सङ्गै नहुने भई भनेर दुःखी बनेकी थिए । अझै याद छ त्यो दिन मलाई ।

१२. हालसम्मको जीवन भोगाई, अनुभवका आधारमा भन्नुपर्दा जीवन भनेको के हो जस्तो लाग्छ ?

– जीवन एक सङ्घर्ष हो । चुनौती हो । अनि यात्रा पनि हो जस्तो लाग्छ ।

१३. जीवनको यो यात्रामा तपाईंले पाउनुभएको सहयात्रीले कत्तिको मनका कुरा, भावना बुझ्नु हुन्छ जस्तो लाग्छ ?

– जीवनसाथी हरेक सुख, दुःखमा साथ दिने हुनुहुन्छ । बुझ्ने हुनुहुन्छ ।

१४. मायाको कुरा गरौं । सबैभन्दा बढी माया कसको लाग्छ ?

– सबैभन्दा बढी माया घरपरिवारको लाग्छ । जन्मघर अनि कर्म घरमा रहनुहुने सदस्यहरुको सबैभन्दा बढी माया लाग्छ ।

१५.अहिले कामको शिलशिलामा आफ्नो जन्मघर अनि कर्मघरबाट अलि पर अर्को जिल्लामा हुनुहुन्छ । त्यहाँ रहेर काम गर्दा कस्तो लागिरहेको छ ?

– काम गर्ने भनेपछि सधैं घरमा बस्ने वातावरण नमिल्दो रहेछ । बाहिरी जिल्लामा आएर पनि सेवा गर्ने अवसर मिलेकोमा खुशी लागेको छ । कति दाजुभाई, दिदी बहिनी विदेशमा गइर त दुःख गर्नुभएको छ । म त मेरै मातृभूमी अनि नेपालीकै सेवामा व्यस्त रहँन पाउँदा गर्व लाग्छ ।

१६.फुर्सदको समयमा के गर्न मनपर्छ ? रुची चाँही के के छन् तपाईका ?

– फुर्सदको समयमा घुम्न एकदम मनपर्छ । अनि गजल, कविता लेख्न र गीत सुन्न मन पर्छ । उपन्यास सुन्न पनि मन पर्छ ।

१७. घुम्न मनपर्छ भन्नुभयो, घुम्न चाँही कहाँ कहाँ जानुभयो अहिलेसम्म ?

– खासै घुम्न समय नै मिलेको छैन । अलि अलि घुमेको छु, पश्चिम महाकालीसम्म । पूर्वमा जनकपुरसम्म । उत्तर पश्चिम, गुल्मी धेरै ठाउँ पुग्न बाँकी छ ।

१८. अन्त्यमा के भन्न चाहानुहुन्छ ?

सर्व प्रथम त लोकखबरलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*