निर्देशकलाई सुझाव दिन सकिन्छः सम्पादक भट्ट
सानो तथा कांचको पर्दा पछाडिको एउटा सक्रिय पात्र हुन् रविन भट्ट । उनी गोरखाको तत्कालीन श्रीनाथकोट गाविस १ (हाल सिरानचोक गापा) मा २०३६ साल असोज १४ गते जन्मिएका हुन् । जीवनमा सिक्नका लागि अनेक दुःख व्यहोरेका भट्ट हाल निकै व्यस्त रहेका पात्र हुन् । गत २०५८ सालदेखि दृश्य सम्पादनमा लागेका रविनले अहिले नाम चलेका र चर्चित हास्य टेलिश्रृखलाहरुमा दृश्य सम्पादनको कार्य गरिरहेका छन् ।
२०५२ सालमा वसाईसराई गरेर तनहुंको वन्दीपुर गापा वाह्रविसेमा पुगेका भट्ट एसएलसी दिएपछि २०५४ सालमा धेरै रंंगिन सपनाहरु बोकेर काठमाडौ उक्लिए । सुरुमा १८ वर्षको उमेरमा दिउंसो छापिने पत्रिका वेच्नेदेखि अण्डा विक्रि गर्ने तथा गेष्टहाउसमा काम गर्दै आरआर क्याम्पसको रात्रीकालीन कक्षामा अध्ययन गर्न थाले । स्कुल पढ्दादेखि नै नेपाल टेलिभिजनमा विनोद मानन्धरको क्लाप वोर्ड हेरेर आर्कर्षित भएका भट्ट अहिले दृश्य सम्पादनमा रुचाइएका एउटा स्थापित पात्र हुन् ।
स्नातकतह सम्म अध्ययन गरेका भट्टले हालसम्म पांचवटा सर्टमुभि, विभिन्न २५ वटा टेलिसिरियल सम्पादन गरिसकेका छन् । चर्चित मेरी वास्सै, भद्रगोल, हल्का रमाइलो, जुठे, जिरेखुर्सानी, सकस सम्पादन गरिरहेका छन् । पहिले उनले दिनेश डिसीको कहिले होला पनि सम्पादन गरेका हुन् ।
आफ्नो प्रेरणाको श्रोत प्रकाश सुवेदीलाई मान्ने रविन भट्टले उनको सिरियलमा ११ वर्ष सम्पादन गरे । चर्चित हास्य कलाकारहरु दमन रुपाखेति, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिर, सीताराम कट्टेलसंग काम गरेर आफ्नो सम्पादकीय कुशलता देखाइसकेका छन् । उनी २०६५ सालदेखि मिडिया हवमा पुर्णकालीन रुपमा आवद्ध छन् ।
दृश्य सम्पादक पनि एउटा निर्देशक हो । यद्यपि, उनी निर्देशकलाई सुझाव दिएर कथा, अभिनय र विषयवस्तुलाई दर्शकमाझ उतार्न सकिने सुझाव दिन्छन् । तीन दाजुभाईमध्ये जेठा र एक दिदीका भाई उनी वुवा, आमाको दोश्रो सन्तान हुन् । पत्नी, छोराछोरी र दुई भाईका परिवारसहित हाल उनी वनस्थलीमा वसोवास गर्दछन् । प्रस्तुत छ, दृश्य सम्पादनमा व्यस्त भट्टसंग लोकखवरका लागि गरिएको विशेष कुराकानीको सारसंक्षेपः

आजकल के गर्दै हुनुहुन्छ ?
–अहिले पनि म आफुले गर्दै आएका नियमित टेलिसिरियलहरु नै दृश्य सम्पादनका कामहरु नै गर्दैछु ।
कसरी टेलिसिरियलको सम्पादन क्षेत्रमा आउनुभयो ?
–सम्पादनमा आउँछु नै भनेर तयारीका साथ आएको भने त होईन । तर, कुनै दिनको टर्निङ प्वाईन्ट भने जस्तै भएको हो ।
म प्रकाश सुवेदी सरको कार्यालय मास्टर क्रिएशन अफिसमा काम गर्थे । साईकलमा दौडधुप गर्नि । खाली भएको समयमा ग्राफिक्स् डिजाईन गर्ने दिवाकर सर हुनुहुन्थ्यो । उहाँले कसरी डिजाईन गर्नुहुन्छ भनेर निकै चासो राखेर हेरी रहन्थे । त्यही सिलसिलामा हल्का फुल्का डिजाईनहरु गर्न थालें । त्यो बेला सिडि, भिसिडि कभरहरु, फिल्म स्टिकर, पोस्टरहरु डिजाईन गरें ।

त्यही बेला प्रकाश सुवेदी सरले टेलिभिजन कार्यक्रम गर्नुभयो । सांगितीक कार्यक्रम हिट मिक्स निर्माण गर्नुभयो । सम्पादन गर्ने पीताम्बर भण्डारी सर हुनुहुन्थ्यो । उहाँले नै सामान्य कुराहरु सिकाउनु भयो । त्यसपछि कार्यक्रमहरु एकपछि अर्को हुँदै कान्तिपुर टेलिभिजनमा फिल्मी कार्यक्रम ‘रजतपट’ गर्नुभयो । रजतपटको एउटा रिपोर्ट बनाउनु पर्ने थियो । अर्को सम्पादक नआएकाले प्रकाश सुवेदी सरले एउटा रिपोर्ट तयार गर त रविन? यो सक्छौ भन्नु भयो । म कोसिस गर्छु भनें गरें पनि प्रकाश सरले खुब मन पराउनु भयो । अव तिमिले सक्छौ भनेर मलाई विश्वास गरेर जिम्मेवारी दिनुभयो । त्यसपछि २०६१ सालबाट ‘जिरे खुर्सानी’ कमेडी कार्यक्रम गर्न थालें र २०६२ सालमा सुरु भएको मेरी बास्सै निरन्तर गरिरहेको छु ।
दृश्य सम्पादन, निर्देशन र अभिनयमा के/के भिन्नता पाउनुहुन्छ ?
– यी तीन वटै बिद्या आँफै फरक हुन् । तर, यसमा मुख्य भुमिका चाहिं निर्देशक कै हुन्छ । कलाकारलाई अभिनय कस्तो गराउने, कस्तो लोकेसनमा छायाँकन गर्ने, सट साईज कुन राख्ने भन्ने कुरा निर्देशकको क्षमतामा भर पर्दछ । उहाँहरुले खिचेर ल्याएको सामग्रीलाई दृश्य सम्पादकले हेरेर लेखक निर्देशकले खोजेको जस्तो र प्रशारण योग्य सामाग्री तयार पार्ने हो ।

कस्को प्रेरणावाट यस क्षेत्रमा प्रवेश गर्नुभयो ?
–म सानो हुँदा बिनोद मानन्धरको क्ल्याप वोर्ड भन्ने फिल्मी कार्यक्रम खुव हेर्न रुचाउँथ, हेर्दथे । यो कसरी गरेको होला भन्ने खुल्दुली भईराख्थ्यो । मैले पनि गर्न पाएनि हुन्थ्यो भन्ने लाग्थ्यो । काठमाडौ आएपछि संयोगले प्रकाश सुवेदी सरसंग भेट भयो र उहाँकै प्रेरणाले यो क्षेत्रमा टिकिराख्न सकियो ।
सम्पादक छायां निर्देशक पनि हो भन्छन् नि ?
–सम्पादकले निर्देशकलाई यस्तो गर्न सकिन्थ्यो, यसो गरि गरौं भनेर सुझाव दिन भने सकिन्छ ।
भविष्यमा निर्देशन गर्ने लक्ष्य छ कि ?
–अहिलेसम्म खासै सोच बनाएको त छैन । यद्यपि, त्यो सबै परिस्थितिले निर्धारण गर्छ ।

तपाई आवद्ध मिडिया हवले के के निर्माण गर्दछ ?
–अहिले पछिल्लो समयमा मिडिया हवमार्फत चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सै, भद्रगोल, भैरवी, उल्टो सुल्टो नियमित रुपमा तयार गरेर दर्शकमाझ चलिरहेको छ ।
तपाइको छोरा रजत भट्ट पनि मेरी वा स्सैमा खेल्नुहुन्थ्यो नि, आजकल के गर्दै हुनुहुन्छ?
–हो, पहिले खेल्थे । अहिले बाबु अध्ययनमा सक्रिय छन् । उनी अहिले १२ कक्षामा अध्ययन गर्दैछन् ।

हालसम्म के/के सम्पादन गर्नुभयो ?
–मैले फिल्मी र टिभी सिसियलहरु सम्पादन गरे । तिमध्ये फिल्मी कार्यक्रमहरुमा हाम्रो सिनेमा, रजतपट, नमस्ते कलिउड, हिट मिक्स हुन् । टिभि. सिरियलहरुमा जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल, ब्रेकफेल, हल्का रमाईलो, जुठे, अति भो, सकस, झ्याईकुटी झ्याई, सिंहदरवार २ हुन् । जनचेतनामुलक चलचित्रहरुमा ज्योति, हरियो बिल्ला, चासोको सम्पादन गरें ।

केहि अविष्मरणीय क्षण छन कि ?
–पहिले विद्युत लोडसेडिङ्ग हुनेताका कार्यक्रम सक्नको लागि विजुली बत्तीे आएको ठाउँ खोज्दै कम्प्युटर बोक्दै हिंडेको र २०६२÷०६३ सालको जनआन्दोलनमा अफिसबाट कोठामा नगई काम गर्न परेको अवस्था मेरो जीवनमा सदा अविस्मरणिय रहिरहेको छ ।
अन्त्यमा छुटेका कुरा केहि छन् ?
–खासै त केहि छैन् । मैले सम्झनु नै पर्ने मेरी श्रीमती, मेरो घरपरिवार जसको निरन्तर साथ र सहयोगले आजसम्म काम गर्ने हौसला प्रदान भईरहेको छ ।
आजसम्म मलाई सगै हातमा हात मिलाउँदै अगाडि बढाउनुहुने मेरा आदरणीय सोम धिताल सर, सम्पुर्ण मिडिया हव परिवार, प्रत्येक सिरियलका लेखक निर्देशकज्यूहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु । प्रस्तुतीः देवचन्द्र भट्ट















































