गाउंटोलमै सामाजिक सुरक्षाभत्ता

– लाभग्राही खुसी
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र २५, बुधबार २३:४८

बिदुर – उमेर तथा शारिरीक अवस्थाका कारण सेवा लिन जान नसकेकाहरुका लागि नुवाकोटको वेलकोटगढी नगरपालिकाले गाउंटोलमै पुगेर सामाजिक सुरक्षा बापतको भत्ता प्रदान गरेको छ । यसवाट लाभग्राहीहरु निकै खुसी भएका छन् । बैंक तथा बडा कार्यालयसम्म पुग्न नसक्ने सेलाग्राहीहरुलाई घर नजिकै रहेको गाउंटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

दुई सातासम्म गाउंघरमै पुगेर पांचसय ५० भन्दा वढि लाभग्राहीहरुलाई सामाजिक सुरक्षा बापतको भत्ता प्रदान गरेको नपा कार्यालयले जनाएको छ । बेलकोटगढी नपाको पञ्जिकरण शाखाको कर्मचारी तथा सानिमा बैंक बाघखोर शाखाको कर्मचारी सहितको टोली दुई सातासम्म गाउंघरमा लाभग्राहीमाझ पुगेर उक्त भत्ता वितरण गरेका हुन् । यसवाट सम्वन्धित वडा तथा वैंकसम्म जान नसकेका सेवाग्राहीहरु लाभान्वित भएको मेयर जगतवहादुर गुरुङको भनाई छ ।

उक्त कार्यलाई निरन्तरता दिइने उनले वताए । सामाजिक सुरक्षा वापतको भत्ता ज्येष्ठ नागरिक, अपांग, दलित, दलित वालवालिका तथा एकल महिलाहरुले पाउंदै आएका छन् । गाउंटोलमा पुगेर चालु आवको दोश्रो त्रैमासिक अन्र्तगत कार्तिक, मंसिर र पुसको रकम वितरण कार्य गरिएको पन्जिकरण शाखाले जनाएको छ ।गाउंटोलमा पुगेर ६० लाख रुपैया भन्दा वढि सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिएको सो शाखाले जनाएको छ ।

बेलकोटगढी नगरपालिकामा रहेका १३ वटै वडामा पुगेर उक्त भत्ता वितरण गरिएको नपाले जनाएको छ । सो नपामा सामाजिक सुरक्षा वापतको भत्ता पाउने तीनहजार चारसय वढि लाभग्राही रहेका छन् ।

उनीहरुलाई कुल सांढे चार करोड रुपैया रकम वितरण गरिदै आएको छ । गाउंटोलमै पुगेर सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिदा सर्वसाधारण निकै लाभान्वित भएको प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेको भनाई छ ।


सर्वाधिक रुचाइएको