कागजपत्र फिर्ता लैजान आग्रह

– जरिवाना नवुझाएकाहरुलाई निर्देशन
लोकखबर
२०८३ असार १४, आईतवार २३:३५

बिदुर – जरिवाना नबुझाएकाहरुलाई कागजपत्र नियमानुसरा फिर्ता लैजान नुवाकोट ट्राफिक प्रहरीले आग्रह गरेको छ । सवारी जाँचका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लुबुक) लगायतका कागजात १० दिनभित्र फिर्ता लैजान सम्बन्धित सवारी चालक तथा धनीलाई आग्रह गरिएको हो ।

कार्यालयले विभिन्न मिति र समयमा गरिएको सवारी जाँचका क्रममा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ उल्लङ्घन गरेका सवारी चालकलाई ऐनको दफा १६४ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र जरिवाना तिर्न निर्देशन दिइएको भए पनि तोकिएको समयभित्र जरिवाना नबुझाएका कारण नियन्त्रणमा रहेका कागजात फिर्ता लैजान आग्रह गरेको हो । ट्राफिक प्रहरीले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र जरिवाना रकम बुझाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट आफ्ना लाइसेन्स, ब्लुबुक लगायतका कागजात फिर्ता लैजान अनुरोध गरेको हो ।

निर्धारित अवधिभित्र कागजात फिर्ता नलिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) बमोजिम ती कागजात बढीमा एक महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने नुवाकोट ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालले चेतावनी दिएका छन् । ट्राफिक प्रहरीले सम्बन्धित सबै सवारी चालक तथा सवारीधनीलाई समयमै जरिवाना बुझाई आवश्यक कागजात फिर्ता लिन आग्रह गरेको हो ।

 


सर्वाधिक रुचाइएको