पहिराले अवरुद्ध त्रिदेशिय मार्ग सुचारु
बिदुर – तीन दिनदेखिको वर्षातका कारण पहिरो गएर नुवाकोटको वेत्रावति नजिकै त्रिदेशिय सडक मार्ग अवरुद्ध भएकोमा मर्मतपछि सुचारु गरिएको छ । वीरगन्ज–गल्छी–बिदुर–वेत्रापति–धुन्चे–स्याफ्रुवेशी–रसुवागढी सडकमार्गको वीचमा रहेको नुवाकोटको वेत्रावति नजिकै शनिवार पहिरो गएकोमा पन्छाएर यातायात सुचारु गरिएको हो । बिदुर नगरपालिका १० स्थित बिदुर–बेत्रावती सडकखण्डअन्तर्गत बेत्रावतीको अगिटारमा सडकमा पहिरो गएपछि रातीदेखि यातायात आवागमन प्रभावित भएको थियो । उक्त सडकमा खसेको पहिरो पन्छाएर यातायात सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

अवरुद्ध भएको बेत्रावती–विदुर सडकखण्ड पहिरो पन्छाएर सञ्चालनमा आएसँगै सवारीसाधन आवतजावत सुरु भएको हो । यद्यपि, सडक माथिबाट ढुङ्गा खस्ने जोखिम अझै कायमै रहेकाले उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । वर्षासँगै सडक माथिवाट आएको पहिरोका कारण यातायात अवरुद्ध भएको थियो । सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा चालकलाई उक्त सडकखण्ड हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको बिदुर नपा १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ ।

उता, केहि दिन अगाडि मात्र स्थानीयवासीको सक्रियतामा वनाइएको स्याफ्रुबेँसीको काठे पुल भोटेकोशीमा आएको बाढीले बगाएको छ । फेरी दुई गाउँपालिकाबीच आवतजावत बन्द भएको छ । भोटेकोशी नदीमा पानीको बहाव बढेपछि गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा स्थानीय बासिन्दाले निर्माण गरेको काठे पुल बगाएको हो ।

पुल बगेसँगै गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबीचको आवतजावत विच्छेद भएको छ । वैकल्पिक मार्गसमेत नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । पुल पुनर्निर्माण नभएसम्म दुई गाउँपालिकाबीचको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समेत समस्या हुने भएको छ ।
















































