बस खरिदका लागि अभियान

– झण्डै एक करोड संकलन
लोकखवर शिक्षा संवाददाता
२०८३ असार १४, आईतवार २३:४३

बिदुर – नुवाकोटको थानापतिस्थित एक सामुदायिक विद्यालयमा बस खरिदका लागि अभियान सन्चालन गरिएको छ । शिवपुरी गापा ८ थानापतिमा रहेको जनज्ञान निकेतन माविमा विद्यालय बस खरिदका लागि सन्चालित अभियान अन्र्तगत झण्डै एक करोड रुपैया संकलन भएको छ । अभियानमा पुर्व विद्यार्थीहरु, शिक्षाप्रेमी, सर्वसाधारण, सहयोगीहरुले आर्थिक सहयोग गरेका हुन् ।

विद्यालय बस खरिद अभियान समितिका संयोजक तथा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिटौलाले विद्यालयलाई आवश्यक भौतिक विकास तथा यातायात सेवा सञ्चालनार्थ सहयोग संकलन गरिएको र हालसम्म झण्डै एक करोड रुपैया सहयोग जुटिसकेको जानकारी दिए । उक्त विद्यालयमा अध्ययनका लागि टाढाबाट विद्यार्थीहरु आउने गरेकाले यातायातको आवश्यकता रहेको कारण विद्यालयले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो । हाल विद्यालयले बस भाडामा लिएर काम चलाउँदै आएको छ ।

देश–विदेशबाट साथ पाएका कारण विद्यालय बस सन्चानलन अभियानमा ९९ लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको संयोजक सिटौलाले वताए । ग्रामीण भेगका विद्यार्थीहरूलाई सुरक्षित, सहज र गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने उद्देश्यले विद्यालयले सञ्चालन गरेको विद्यालय बस खरिद अभियानमा देश तथा विदेशबाट प्राप्त सहयोगले विद्यालय परिवारलाई उत्साहित बनाएको प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेको भनाई छ । उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको लामो दूरीको यात्रा, कठिन भूगोल र यातायातको अभावलाई मध्यनजर गर्दै सुरु गरिएको अभियानमा विभिन्न संघसंस्था, दातृ निकाय, पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेखनीय साथ प्राप्त भएको हो । अभियानका सुरुवाती प्रमुख दातामा याक एण्ड यति फेशन युएसएका सतिस मारिया भट्टचन रहेका छन् ।

उनीहरूको पहलमा विद्यालयलाई कुल १९ लाख नौहजार तीनसय ९४ रुपैया सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । शिवपुरी गाउँपालिकाबाट १२ लाख, हुमन प्राक्टिस फाउण्डेसनवाट ४२ लाख, केपिन फ्रान्स एसएल ओलिभिया बाससेरेसबाट ८० हजार रुपैया तथा रोटरी क्लव अफ काठमाडौं नर्थ इष्टबाट ५ लाख चारहजार रुपैया सहयोग प्राप्त भएको छ । यसका साथै विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी, समाजसेवी तथा शुभेच्छुकहरूबाट समेत गरि कुल १९ लाख ९८ हजार ७ सय ९५ रुपैया सहयोग संकलन भएको सहयोग स.कलन अभियान संयोजक तथा विद्यालयका निवर्तमान अध्यक्ष हरिप्रसाद सिटौलाले वताए । उनका अनुसार हालसम्म अभियानमार्फत झण्डै ९९ लाख रुपैयाँ संकलन भएको छ ।

संकलित रकमबाट विद्यालय बस खरिद गरिने तयारी सुरु भएको छ । बाँकी रकमबाट विद्यालयमा आवश्यक शौचालय निर्माण, कार्यक्रम स्टेज तथा क्यान्टिन निर्माण गरिने र बाँकी रकम विद्यालय बस सञ्चालन कोषमा सुरक्षित राखिनेछ । विद्यालयले यो अभियानलाई केवल बस खरिदमा सीमित नराखी विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने अवसरका रूपमा लिएको प्रधानाध्यापक लामिछानेको भनाई छ ।

विद्यालय परिवारका अनुसार प्राप्त सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीहरूको विद्यालय पहुँच थप सहज हुने, अध्ययनमा नियमितता बढ्ने तथा अभिभावकको आर्थिक र समयगत भार समेत कम हुने अपेक्षा गरिएको छ । विद्यालय परिवारले आर्थिक, नैतिक तथा प्राविधिक सहयोग पु¥याउने सम्पूर्ण दाता, सहयोगी संस्था, पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी, समाजसेवी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ । “शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएका कारण जनज्ञान निकेतनको सोे अभियानमा जोडिएका प्रत्येक सहयोगी हातले सयौँ विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पु¥याएका छन् ।”


सर्वाधिक रुचाइएको