लिखु गापाको भवन निर्माण सुरु

– सात करोडको लागत
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र ४, बिहीबार ००:३५

बिदुर – स्थानीय तह भएको नौ वर्षपछि नुवाकोटको पुर्वी भेगमा रहेको लिखु गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु भएको छ । भवनको निर्माणसंगै गापालाई निकै सुविधा हुने जनाइएको छ । लिखु गापा ४ गड्खार, चौघडामा लिखु गापाको प्रशासकिय भवनको शिलान्याससंगै निर्माण सुरु भएको हो । उक्त गापाको वुधवार गापा अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष शुभद्रा उप्रेतीअधिकारीले शिलान्यास गरेसंगै निर्माण कार्य सुरु भएको हो ।

कुल सात करोडको लागतमा आगामी डेढ वर्षभित्र ठेक्का प्रक्रियाद्वारा उक्त भवन सांढे तीन तले हलसहित ३० कोठे निर्माण हुने जनाइएको छ । संघीय सरकारको साझेदारीमा निर्माण गरिने उक्त भवन हाल लिखु गापा आफैंले निर्माण सुरुवात गरेको हो । लामो समयपछि सुरु भएको भवन निर्माणले लिखु गापाको प्रशासनिक सेवा अझ व्यवस्थित र सहज हुने अपेक्षा गरिएको गापा अध्यक्ष ध्रुव श्रेष्ठको भनाई छ । उनका अनुसार यसले स्थानीय विकास र समृद्धितर्फको यो महत्वपूर्ण कदमको सुरुवात भएको छ ।

शिलान्याससगै लिखु गापाको नयाँ प्रमुख प्रशासकीय भवन निर्माणको औपचारिक सुरुवात भएको छ । भवन शिलान्यास कार्यक्रममा बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, पञ्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश), उपाध्यक्ष बिमला पाठककेसी, लिखुका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्थानीयवासी, तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । नयाँ प्रशासकीय भवन निर्माण सुरु गरिनु संस्थागत विकास र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको लिखु गापाका प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टको भनाई छ ।

उनले व्यवस्थित, आधुनिक र पर्याप्त भौतिक संरचनासहितको भवन निर्माण भएपछि गाउँपालिकाबाट प्रदान गरिने प्रशासनिक तथा नागरिक सेवाहरू एकै स्थानबाट थप सहज, छिटो, व्यवस्थित र प्रभावकारी रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । अहिलेको भौतिक संरचनाका कारण सेवाग्राहीले भोग्नुपरेका स्थान अभाव, कार्यालय व्यवस्थापन तथा सेवा लिन विभिन्न शाखामा पुग्नुपर्ने जस्ता समस्या अन्त्य हुने विश्वास गरिएको छ । नयाँ भवनमा कार्यालय, शाखा तथा सेवा कक्षहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भएकाले लिखु गाउँपालिकाबासीलाई सेवा लिन सहज र आरामदायी वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।

भवन निर्माणपछि जनप्रतिनिधि तथा कर्मचारीलाई पनि व्यवस्थित कार्य वातावरण प्राप्त हुँदा दैनिक प्रशासनिक कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उपाध्यक्ष शुभद्रा उप्रेतीअधिकारीको भनाई छ । उनका अनुसार यसले गाउँपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई थप बलियो बनाउने विश्वास गरिएको छ । भवन निर्माणको कामलाई तोकिएको अवधिभित्रै गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्न गापा अध्यक्ष ध्रुव श्रेष्ठले निर्माण पक्षलाई निर्देशन दिए ।

उनले भवन निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा नभई गाउँपालिकाको दीर्घकालीन विकास र नागरिक सेवासँग जोडिएको महत्वपूर्ण परियोजनाका रूपमा अघि बढाउन आग्रह गरे । नयाँ प्रशासकीय भवन निर्माण सुरु भएसँगै लिखु गाउँपालिकाबासीमा समेत उत्साह थपिएको वडाध्यक्ष सीताराम पुलामीको भनाई छ । उनका अनुसार आधुनिक र व्यवस्थित भवनबाट आफ्नै गाउँपालिकामा सहज रूपमा सेवा पाउने अपेक्षाले स्थानीयवासीमा ‘हाम्रो गाउँपालिका, हाम्रो सुविधा र हाम्रो विकास’ भन्ने भावना अझ बलियो बनाउने देखिएको छ ।

नुवाकोटका १२ स्थानीय तहमध्ये सबैभन्दा लिखु गापाले आवश्यक जग्गा प्राप्ति भएपछि आफ्नो प्रमुख प्रशासकीय भवन निर्माणको कार्य सुरु गरेको हो । केही महिनाअघि मात्रै गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको थियो । सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा नागरिक सेवा सुधारलगायतका क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको गापाले जनाएको छ । भवन नहुंदा उक्त गापा हाल भलाद्मीडांडाको विद्यालयवाट सन्चालन भइरहेको छ ।

नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाका विभिन्न शाखा तथा सेवा कक्षलाई एउटै व्यवस्थित संरचनाभित्र सञ्चालन गर्न सकिनेछ । हाल भवन नहुंदा सेवाग्राहीले भोग्दै आएका स्थान अभाव, कार्यालय व्यवस्थापन तथा सेवा लिन विभिन्न स्थानमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । नयाँ भवनले जनप्रतिनिधि तथा कर्मचारीलाई समेत थप व्यवस्थित कार्य वातावरण उपलब्ध गराउने छ ।

यसबाट दैनिक प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । लिखु गापाको नयाँ प्रमुख प्रशासकीय भवन निर्माणको शुभारम्भ भएसँगै स्थानीयवासी तथा सरोकारवालामा खुसी र उत्साह छाएको छ । भवन शिलान्यासको अवसरमा कार्यक्रममा सहभागीहरूको पञ्चेबाजाको तालमा छमछमी नाच्दै खुसी साटासाट गर्ने दृश्यले झनै रौनक थपेको थियो ।

भवन शिलान्यासको खुसीमा पञ्चेबाजाको तालमा स्थानीय सरोकारवालाहरू रमाउँदै नाचेको दृश्यले ‘विकाससँगै खुसी पनि जोडिन्छ’ भन्ने भाव झल्काएको थियो । उक्त भवन समथर गड्खारफांटमा निर्माण सुरु भएको हो ।


सर्वाधिक रुचाइएको