त्रिशूली–ढुंगे झोलुंगे पुल निर्माण
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको त्रिशूलीमा पश्चिमी भेग जोड्ने दुई वटा पक्कि पुल वगाएपछि डेढ महिनादेखि आवागमन ठप्प रहेको छ । वैकल्पिक मार्ग सन्चालन गरिएपनि पुल नहुंदा जिल्ला अस्पताल त्रिशूली जानसमेत समस्या भएको छ । बाढीले पक्कि पुल ध्वस्त पारेपछि निकै प्रतिक्षाको विषय वनेको ढुंगे र त्रिशूलीवजार जोड्ने बेलिब्रिज निर्माण हुन सकेको छैन् । यद्यपि, उक्त स्थानमा झोंलुंगे पुलको निर्माण धमाधम भइरहेको छ ।

झोंलुंगे पुलको निर्माणसंंंगै आमसर्वसाधारण निकै खुसी भएका छन् । बिदुर नगरपालिका १ त्रिशूली र ढुंगे बजार जोड्न झण्डै एक महिनादेखि झोंलुंगे पुल निर्माणको कार्य भइरहेको छ । उक्त स्थानमा झोंलुंगे पुल निर्माणको कार्य सकिएपछि आवतजावतमा सहजता आउने छ । ढुंगे र त्रिशुली बजार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

हाल पुलको क्रस बिम र स्टिल डेक जोड्ने काम द्रुत गतिमा भइरहेको छ । सबै काम योजना अनुसार अघि बढेमा आगामी फुलपातीभित्र पुलको निर्माण कार्य सम्पन्न भई तयार हुने छ । नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सो पुलको निर्माण कार्य भइरहेको हो । कुल २ सय ६७ मिटर लम्बाई रहेको यो झोलुंगे पुलको निर्माण सम्पन्न भएसँगै ढुंगे र त्रिशुली बजारबीच आवतजावत गर्ने स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने नुवाकोट निर्माण व्यवसायी महासंघका अध्यक्ष शैलेन्द्ररराज प्याकुरेलको भनाई छ । उनका अनुसार असोज २९ गते विहीवार सम्ममा पुलको काम सकेर ३० गतेबाट सर्वसाधारणको आवत–जावतको लागी खुल्ला गरिने छ । पुल सञ्चालनमा आएपछि ढुङ्गे र त्रिशूली बजारबीच प्रत्यक्ष आवतजावत सहज हुनुका साथै स्थानीय बासिन्दा, व्यवसायी तथा सर्वसाधारणलाई ठूलो राहत मिल्नेछ ।















































