छैन बाढीग्रस्त नुवाकोटमा बडादशैंको रौंनक
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा धेरैलाई प्रताडित वनाएको छ । डेढ महिना अगाडिको त्यस प्रलयकारी बाढीले घरवारविहीन भएकाहरुले अहिले पनि आफन्त तथा अन्य व्यक्तिकोमा वसिरहेका छन् । गत भदौ १० गते विहान १० वजे आएको प्रलयकारी बाढीले पहाडि संरचना रहेको नुवाकोटमा धेरै मानवीय तथा भौतिक क्षति गरेको छ । बाढीले नुवाकोटको बिदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र म्यागङ गाउंपालिकामा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

बाढीले ति स्थानीय तहमा रहेका ढुंगे, त्रिशूली, वेत्रावति, सोले, तुप्चे, देवीघाट, महादेवफांंट, वुधसिङघाट, तारुका, मैरीटार, ढोडवेसीलगायतका स्थानमा क्षति गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार बाढीले नुवाकोटमा एकहजार आठसय १३ घर क्षति भएका छन् । तिमध्ये एकहजार सातसय ६ घर पूर्ण रुपमा क्षति भएका छन् । एकसय सात घर आंशिक क्षति भएका छन् । सवैभन्दा वढि क्षति बिदुर नपा १ त्रिशूली र ढुंगेवजारमा चारसय एक घर क्षति भएका छन् । त्यसपछि बिदुर नपा ५ देवीघाटमा तीनसय ८७ घर क्षति भएका छन् ।

बिदुर नपा १० मा दुईसय ३२, बिदुर नपा ७ मा एकसय ७५, बिदुर नपा ९ मा एकसय ४८, बिदुर नपा ७ मा एकसय ७५, बिदुर नपा ३ मा एकसय १०, बिदुर नपा ४ मा ७५, बेलकोटगढी नपा ७ मा ८०, ८ मा ६५, किस्पाङ गापा ५ मा ३४, बिदुर नपा ६ मा ५ तथा बिदुर ८ र तारकेश्वर २ मा तीन÷तीन घरमा क्षति भएको छ । प्रजिअ रेग्मीका अनुसार नुवाकोटमा बाढीले दुईहजार सातसय २३ जना वेपत्ता रहेका छन् । जसमध्ये दुईहजार तीनसय ६८ जना नेपाली र तीनसय ५५ जना विदेशी नागरिक रहेका छन् । नुवाकोटमा दुईसय पांच जनाको शव निकालिएको छ भने ६६ जना घायतेको उपचार गरिएको छ ।

३९ वटा शवको पहिचान भएकोमा अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ । बिदुर नपा ७ तुप्चेमा रहेको जनजागरण महिला समूह आश्रित केन्द्रमा शनिवारसम्म ३७ महिलासहित ६७ जना वसोवास गरिरहेका छन् । बाढीले क्षति गरेको आफ्नो तीन तल्ले पक्कि घर शनिवार सरसफाई गर्दै बिदुर नपा १ ढुंगेवजारमा भेटिएका राजकुमार उप्रेती आफ्नो आठ जनाको परिवार वस्दै र व्यापार गर्दै आएको घर बाढीले क्षति गरेका कारण यस पटक दशैंको कुनै रोैंनक आउन नसकेको वताए । उनले वालवच्चा र परिवारलाई सुरक्षित राख्नु पहिलो कुरो भएको वताउंदै चाडपर्व त अरु वर्ष पनि मनाउन सकिने वताउंछन् ।

उता, बिदुर नपा ५ देवीघाटका बाढी पीडित नवीन चित्रकार पनि साथीभाइको सहयोग लिएर आएको घर सरसफाई गर्दैछन् । गत वर्षतिर त दशैंको रौंनकले देवीघाट वजारको माहौंल नै अर्कैं हुन्थ्यो, अहिले त बाढीले सोत्तर न पारिदियो, दशैं भन्दा पनि परिवार व्यवस्थापन मुख्य चुनौती रहेको वताउंछन् । बिदुर नपा १ त्रिशूलीवजारका महेन्द्र श्रेष्ठ बाढी गएको डेड महिनासम्म पनि त्रिशूली वारी र पारी जोड्ने कुनै पनि संरचना हुन नसक्दा दशैंको महत्वले प्रवेश नै नपाएको वताउंछन् । इन्द्रायणीघाटमा तुइन र जिपलाइन त छ । तर, त्यत्तिले नुवाकोटको पशिचमी भेगलाई यातायातको सम्पर्क पहुंचमा पुग्न नसकेको गुनासो गर्दछन् ।

त्रिशूलीवजारकै बाढी पीडित जियाउल हकमिया सम्वन्धित निकायले छिटो भन्दा छिटो त्रिशूली वारी र पारी जोड्ने पुल निर्माण आवस्यक रहेको वताउंछन् । पुल नहुंदा दैनिक उपभेग्य वस्तुमासमेत समस्या हुने गरेको उनले वताए । बिदुर नपा १० वेत्रावतिका अर्का बाढी पीडित अष्टमान डंगोल प्रलयकारी बाढीवाट त वांचियो, सम्पत्ति वगे, कतिका परिवार पनि वगे, यो वेला सहज व्यवस्थापनको हो, चाडपर्व त मनाउंदै गरौंला पनि भन्छन् । उनले यातायातको आवागमनका साथै घरवार विहीन भएकाहरुलाई सरकारले पुर्नस्थापनको काम सुरु गर्नुपर्ने वताउंछन् ।

विगतमा वडादशैंको यस समयमा निकै रौनक हुने देवीघाट वजार अहिले उजाडिएको छ । वजारको अस्तित्व नै नामेट पारिदिएको छ, पहिले परिवारको व्यवस्थापन अनिमात्रै चाडपर्व विस्तारै मनाउंला भन्छन् अर्का बाढी पीडित दीपेन्द्र न्यौपाने । देवीघाटकै अर्का बाढी पीडित पूर्णमान चित्रकार दुई किलोमिटर माथि पिपलटारमा कोठा भाडामा लिएर परिवारको व्यवस्थापन गरेको वताउंछन् । उनको महत्व पनि यस वर्ष चाडपर्व भन्दा परिवारलाई बाढीको पीडावाट मुक्त गर्ने रहेको छ ।

बाढीले घर सिनित्तै वढा¥यो, थातथलो ने छोडेर अन्यत्र वसाइसरे जसरी कोठा भाडामा लिएर आफु र आफ्नो परिवार वस्दै आएको बाढी पीडित विनीता चित्रकारको भनाई छ । चाडपर्व भन्दा पनि बाढीले वेघर वनाएकाहरुलाई सरकारले पुर्नस्थापना गर्नुपर्ने उनको भनाई छ । बाढीले सदियौंदेखि वसोवास गर्दै आएको आफ्नो घर र बस्ती नै उजाड वनाइदिएपछि पीडितहरुको मुहारमा यस वर्ष दशैंको रौंनक तथा उत्साह छैन् । पीडामा चाडपर्व भन्दा पनि परिवारको चिन्ता हुने बाढीले घर र व्यवसाय वगाएको देवीघाटका कृष्णवहादुर कोइराला वताउंछन् ।













































