मर्निङवाक गर्नुहुन्छ ? चिसोमा सतर्क रहनुहोस्

लोकखबर
२८ मंसिर २०७६, शनिबार ०६:०८

मकवानपुर । के तपाईं आफ्नो स्वास्थ्य राम्रो बनाउन नियमित मर्निङ वाकमा निस्कनुहुन्छ ? मकवानपुर लगायत देशभर अहिले बढेको चिसोले तपाईंलाई असर गर्नसक्ने भएकाले सतर्क रहनुपर्छ । वायु प्रदुषणको बेलामा स्वास्थ्यको फाइदाका लागि हामीले गर्ने मर्निङवाक नै घातक हुनसक्ने चिकित्सकको भनाई छ ।

चिसो बढेपछि विभिन्न कारण वायुप्रदुषण हुने गर्दछ । अहिले काठमाडौं उपत्यकामा त प्रदूषणको अवस्था हेर्दा विहानीपख खुला क्षेत्रमा हिँडडुल गर्न उचित नहुने देखिएको छ ।

मकवानपुरका विभिन्न भागमा पनि चिसो याममा विभिन्न कारण वातावरण प्रदुषण हुनसक्ने भएकाले यो बेला मर्निङवाकमा ननिस्कनु नै राम्रो हुने चिकित्सकको सुझाव छ । साना आकारका प्रदूषित वायुलाई मास्कले समेत नछेक्ने भएकाले विहान कोठाभित्रै शारिरिक कसरत तथा व्यायाम गर्नु प्रभावकारी हुने चिकित्सहरुको सुझाव छ ।

जाडो मौसममा विशेषगरी आगो ताप्दा निस्किएको धुवाँ, सवारीसाधनबाट निस्किएको धुवाँ, सडकबाट आउने धुलोकण वायुप्रदूषण बढ्नुको मुख्य कारण भएको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल बताउँछन् । उनका अनुसार तापक्रम घट्दो अवस्थामा भएकाले नयाँ वायुको चहलपहल नहुने र प्रदूषित वायु सतहमै रहने ठाउँमा बढी प्रदुषण हुन्छ । यस्तो अवस्थामा आफ्नो कोठाभित्रै व्यायाममा ध्यान दिने र चिसो घटेपछि मात्र बाहिर मर्निङवाकमा निस्कनु राम्रो हुने चिकित्सकको सल्लाह छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *