अमेरिका र चीनवीच करमा सम्झौता
विदुर–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनसँग सम्झौता गरेको बताएका छन् र ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै करमा सम्झौता भएको जनाएका हुन् ।
राष्ट्रपति ट्रम्पले लेखेका छन्,‘हामी चीनसँग सम्झौतामा पुगेका छौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ र मेरो अन्तिम स्वीकृतिको अधिनमा छ । पूर्ण चुम्बक र आवश्यक पर्ने धेरै दुर्लभ तत्वहरू चीनले अग्रिम रूपमा प्रदान गर्नेछ ।’
ट्रम्पले अमेरिकाले चीनलाई सहमति भएका कुरा प्रदान गर्ने बताए । उनले अमेरिकी कलेज र विश्वविद्यालयमा आउने चिनियाँ विद्यार्थी पनि समावेश रहेको बताए । यो आफ्नो लागि सधैँ राम्रो कुरा हुने उनले बताए ।
करको बारेमा ट्रम्पले भने, ‘हामीले कुल ५५ प्रतिशत कर पाइरहेका छौँ । चीनले १० प्रतिशत पाउँछ, सम्बन्ध राम्रो छ ।’
यसैबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले एक्समा पोस्ट गरेका छन्,‘चीन–अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लन्डनमा सम्पन्न भयो । वार्ताको क्रममा दुवै पक्षले स्पष्ट र गहन कुराकानी गरेका छौँ । आर्थिक तथा व्यापारिक विषयमा विचार आदानप्रदान गरेका छौँ । (एजेन्सीहरुको सहयोगमा)











































